राप्रपा तत्काल संघीय सरकारमा नजाने, कोशी प्रदेशको सभामुख पद यथावतै

राप्रपा तत्काल संघीय सरकारमा नजाने, कोशी प्रदेशको सभामुख पद यथावतै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभागी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र निर्णय गर्नुपर्ने बताएका छन्। 

बिहीबार जिल्ला अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गरेर निर्णय गरेपछि मात्र टुङ्गो लाग्ने भन्दै व्यक्तिगत चाहनाले निर्णय हुने विषय नभएको बताए। 

उनले भने, ‘हामी सरकारमा जाने/नजाने भन्ने कुरा परिस्थितिले निर्धारण गर्छ। हाम्रो चाहनाले मात्र हुँदैन। गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेरेर सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ। यसमा कोही पनि भ्रममा पर्न हुँदैन।’

उनले कोशी प्रदेशमा राप्रपाका सहभागिता सन्दर्भमा उनले संविधानको आधारभूत मान्यतामा एक मत नभएपनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएको बताए। 

उनले भने, ‘कोशी प्रदेशमा सभामुखमा हाम्रो सहभागिता भयो, तत्काललाई सहभागी हुनुहुन्न भन्ने पक्षमा नै थिएँ। त्यही कुरा निर्देशन पनि दिएको थिएँ तर, विदेशमा भएको बेला साथीहरू सहभागी हुनुभयो। संविधानको आधारभूत मान्यतामा पनि एकमत छैन। तर, सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएका छौं।’

साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छ। बैठकमा जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। 

साउन १६, २०८१ बिहीबार १६:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।