लुम्बिनी : ८ मन्त्रीले सपथ लिएको हप्ता दिन बित्यो!, तर अझै विनाविभागीय

लुम्बिनी : ८ मन्त्रीले सपथ लिएको हप्ता दिन बित्यो!, तर अझै विनाविभागीय
तस्बिर : मुख्यमन्त्री आचार्यको नियुक्ति

काठमाडौं : लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले ९ भदौमा नौ मन्त्रिपरिषद विस्तार गरेपनि अझै जिम्मेवारी तोक्न सकेका छैनन्। 

प्रदेश सरकारको छैटौँ मुख्यमन्त्रीको रूपमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ मा नियुक्त भए। त्यसपछि साउन ९ मा सपथ ग्रहण गर्दै पहिलो चरणमा कांग्रेस र एमाले सहितको ९ सदस्यीय मन्त्रिमण्डल गठन गरे। तर, मन्त्रीहरू अहिलेसम्म पनि जिम्मेवारीविहीन अवस्थामै छन्। 

मुख्यमन्त्री आचार्य नेतृत्व सरकारमा एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्री छन् भने कांग्रेसका चार मन्त्री छन्। तर, उनीहरू अझै विनाविभागीय रहंदा प्रदेशका कार्यहरू प्रभावित बनेका छन्। 

भर्खरै मात्र भएको प्रदेश प्रमुख परिवर्तन र कांग्रेसबाट एकजना र अन्य २ साना दलबाट मन्त्री नियुक्त गरेर मात्र मन्त्रीहरूको कार्यविभाजन गर्ने मुख्यमन्त्रीको तयारी रहेको सरकार प्रवक्ता एवं विना विभागीय मन्त्री दिनेश पन्थीले बताए।
 
उनले अहिले दुई दलको संयुक्त सरकार बनेको हुँदा एउटा सानो कार्यदल गठन भएको र त्यसले सरकार कसरी सञ्चालन गर्ने बारेमा गृहकार्य गरिरहेको बताए। 

एमालेबाट मन्त्री बनेका खेम सारुले नयाँ प्रदेश प्रमुखले बिहीबार सपथ ग्रहण लिने र त्यसपछि केही मन्त्रीहरूलाई पनि सपथ ग्रहण गराउने र मन्त्री भइसकेकाको जिम्मेवारी प्रमाणित गर्न बाँकी रहेको हुँदा एक र दुई दिनभित्रमा मन्त्रीहरूले जिम्मेवारी पाउने बताए।

कांग्रेसकी प्रदेश सभा सदस्य सुशीला बादीले सबै मन्त्रीहरू नियुक्ति भएपछि जिम्मेवारी दिने तयारी रहेको बताइन्। 

साउन १६, २०८१ बिहीबार १६:०७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।