डिआइजी केसीको सरुवाबारे गृहमन्त्रीको जवाफ ‘राम्रो तालिम दिन, राम्रो मान्छे पठाउँदा के समस्या भयो?’

डिआइजी केसीको सरुवाबारे गृहमन्त्रीको जवाफ ‘राम्रो तालिम दिन, राम्रो मान्छे पठाउँदा के समस्या भयो?’

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेकै आधारमा पटक-पटक सरुवा गरिएको भन्दै विवाद बढेपछि गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी पढे लेखेको व्यक्ति भएकाले प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको दाबी गरे।

संसदीय समितिहरूले अहिले गृहमन्त्री लेखकलाई बोलाएर शान्ति सुव्यवस्था र गृह प्रशासनबारे जानकारी लिइरहेको छ। बुधवार उनी राज्य व्यवस्था समितिको बैठकमा गएका थिए भने बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सहभागी भएका थिए।

बैठकमा केही सांसदहरूले प्रहरी कर्मचारीको सरुवाबारे प्रश्न उठाएपछि उनले ‘प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो?’ भन्दै प्रतिप्रश्न गरेका थिए। डा केसीले संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा नेपाल प्रहरीको योगदान विषयमा विद्यावारिधि गरेका छन्।

अन्तर्देशीय अपराध हेर्ने विशेष ब्यूरोमा रहेका उनलाई हालै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो। प्रतिष्ठानको प्रमुख भने एआइजी हुन्छन्। रवि लामिछाने गृहमन्त्री रहँदा प्रहरी सङ्गठनको चेन अफ कमान्ड क्रस गरेर काम गरेको उनीमाथि आरोप लागेको थियो।

समानान्तर सङ्गठन चलाउन खोजेको र पदीय दुरुपयोग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआइजी श्याम ज्ञवालीको भूमिकाबारे त प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति नै गठन गरिसकेको छ। बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले तालुकदार( गृह) मन्त्रालयबाट आएको पत्र अनुसार छानबिन सुरु गरिएको बताएका थिए।

संयोग, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान शुरु हुँदा डा केसी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए भने ज्ञवाली उपत्यका प्रहरी कार्यालयको प्रमुख थिए। लामिछाने गृहमन्त्रीहुँदा यी दुबैले प्रहरी महानिरीक्षकलाई बाइपास गरेर सिधै गृहमन्त्रीको इन्ट्रेस्टमा काम गरेर संगठनको दुरुपयोग गरेको आरोप लागेको छ। यी दुबैले अघोषित रुपमा गृहमन्त्रीको सल्लाहकारको काम गरेको आरोप छ।

डा केसीको सरुवाको सम्बन्धमा गृहमन्त्री लेखकले भने ‘ कर्मचारीको सरुवा र बढुवा हुन्छ। कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ। तर कहिलेकाहीँ अवधि भन्दा पहिले पनि हुन्छ।’

जुन पदमा डा केसीको सरुवा भएको छ उनी सो पदका लागि अत्यन्त योग्य मानिस रहेको र योग्यतम ठाउँमा पुगेको तर्क गरेका थिए।

‘प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेका चाहियो नि, प्रहरी राम्रो बनाउनु पर्यो। अनि राम्रो प्रहरीलाई, राम्रो तालिम दिन, राम्रो मान्छे पठाउँदा के समस्या भयो?’ उनले प्रश्न गरेका थिए।

साउन १६, २०८१ बिहीबार १५:३५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।