भ्रष्टाचारको फाइल खोल्नुपर्ने दबाबप्रति गृहमन्त्रीको जबाफ : 'कसैसँग रिस उठ्यो भन्दैमा मुद्दा चलाइदिने?'

भ्रष्टाचारको फाइल खोल्नुपर्ने दबाबप्रति गृहमन्त्रीको जबाफ : 'कसैसँग रिस उठ्यो भन्दैमा मुद्दा चलाइदिने?'

काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त सुशासन रहेकाले यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने बताएका छन्। 

बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले सदाचार नीति जारी गर्न ढिला भइसकेको उल्लेख गर्दै सरकारलाई नीति पारित गरि जारी गर्नका लागि समितिबाट सुझावको आवश्यकता रहेको बताए। 

उनले भने, ‘सदाचार भनेको मानिसलाई भित्रबाट राम्रो गर्नका लागि उत्प्रेरित गर्ने विषय हो। त्यसैले व्यक्तिको प्रक्रियालाई ठिक गर्नका लागि ल्याउन आवश्यक रहेको नीति हो, सदाचार नीति। यो आवश्यक छ, जरुरी छ र सरकार नीतिलाई पारित गरि लागु गर्नका लागि प्रतिवद्ध छ।’

भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै चौतर्फी दबाब आइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले कानुन अनुसार अघि बढ्ने बताए। 

फाइल खोल्नु भनेको मुद्दा अगाडि बढाउनु रहेको बताउँदै उनले कसैको चाहना र रहरले मुद्दा नचल्ने बताए। 

‘फाइल खोल्ने भनेको मुद्दा चलाउने होला नि। फाइल खोलेर यि यता छ भनेर देखाउने त होइन होला। अनि लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ? कसैप्रति रिस उठ्यो भन्दैमा मुद्दा चलाइदिने त? कसैका चाहना र रहरले मुद्दा चल्दैन,’ उनले भने। 

साउन १६, २०८१ बिहीबार १४:४४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।