संक्रमणकालीन न्याय सम्बन्धिका मिल्न बाँकी विषयमा पनि सहमति

संक्रमणकालीन न्याय सम्बन्धिका मिल्न बाँकी विषयमा पनि सहमति

काठमाडौं : संक्रमणकालीन न्याय सम्बन्धि विधयेकमा सहमति जुटेको छ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो।

कार्यदलका सदस्यहरू गृहमन्त्री रमेश लेखक, एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भएको निरन्तरको छलफलपछि आज सहमति जुटेको छ।

बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भन्नुभयो, ‘आज राम्रो उपलब्धि भएको छ। हाम्रा बीचमा मिल्न बाँकी कुराहरू सबै मिलिसकेको छ। द्वन्द्वकालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढङ्गले परिभाषित गरिएको छ।’

उनका अनुसार मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ।

‘यदि पीडितको सहमति भएन भने मानवअधिकारको उल्लङ्घनमा पनि सरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्न सक्ने छ। दुनियावादी फौजदरी मुद्दा भएकोमा पीडितलाई चाहेको गर्ने अधिकार दिने कुरा भएको छ। मानवअधिकारको गम्भीर उल्लङ्नमा त मुद्दा चल्ने नै भयो’, गृहमन्त्री लेखकले भने।

द्वन्द्वमा संलग्न सुरक्षाकर्मीको मृत्यु र घाइते भएका परिवारलाई पनि पीडित सरह परिपूरण दिने सहमति भएको उनले बताए।

यस्तै तत्कालीन माओवादीबाट लडेका बहिर्गमित मानिसहरूलाई द्वन्द्व प्रभावितका रूपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमति भएको गृहमन्त्री लेखकले बताए।

‘यसलाई कानुन मन्त्रालयको सचिवले ड्राप्ट गर्नुहुन्छ। त्यसपछि हामीहरूले नेताहरू (प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)लाई बुझाउछौँ,’ उनले थपे, ‘संक्रमणकालीन न्याय देशको साझा विषय भएकाले कार्यदलमा भएको सहमति संसदीय समिति हुँदै संसदबाट पारित हुनेमा विश्वस्त छु।’

संक्रमणकालीन न्याय सम्बन्धि विधेयक संघीय संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको छ। त्यो विधेयकबारे नमिलेका कुरा मिलाउनका लागि गठित लेखक, बर्तौला र शर्मा सम्मिलित तीन सदस्यीय कार्यदल गठन भएको थियो।

पछिल्ला बैठकहरूमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्यायाधिक्ता केशव बडाल, पूर्व कानून मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाल लगायतको पनि सहभागी थियो।

साउन १६, २०८१ बिहीबार १२:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।