इन्जिनियर पुष्पाञ्जली खनालको हिजोको कुरा : ‘भाग्यमानी’ले मात्र डुम्रेबाट काठमाडौं एउटै बसमा आउन पाउँथे

इन्जिनियर पुष्पाञ्जली खनालको हिजोको कुरा : ‘भाग्यमानी’ले मात्र डुम्रेबाट काठमाडौं एउटै बसमा आउन पाउँथे

गोरखाको गाइखुरमा ५९ वर्षअघि जन्मिएकी हुन् पुष्पाञ्जली खनाल। सडक डिभिजन कार्यालयमा प्राविधिकको रूपमा प्रवेश गरेकी उनी गत वर्ष मात्र उपसचिव पदबाट अवकाश पाइन्।

पुष्पाञ्जलीको बाल्यकाल र शिक्षादीक्षा गोरखामै बित्यो। २०३८ सालमा गाउँकै लक्ष्मी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी उनी त्यसपछि भने काठमाडौंको अमृत साइन्स क्याम्पसमा पढ्न थालिन्।

त्यतिबेला पञ्चायत व्यवस्था विरुद्धको आन्दोलन चर्किरहेको थियो। कलेज अगाडि नाराबाजी गर्ने र प्रहरीसँगको पटक-पटक झडप हुन्थ्यो। त्यहाँबाट आईएस्सी पास गरेपछि सिभिल इन्जिनियर अध्ययनका लागि उनी पुल्चोक क्याम्पस पुगिन्।

सडक निर्माणका लागि विकट स्थानमा जानुपर्ने भएकाले त्यतिबेला सिभिल इन्जिनियरलाई दुखी पेशाको रूपमा हेरिन्थ्यो। त्यसैले पुल्चोकमा सिभिल इन्जिनियर पढ्ने जम्मा दुई जना मात्र केटी थिए, बाँकी सबै पुरुष। उनलाई केही समय असहज पनि लाग्यो। तर, पढ्नु त छँदै थियो।

पुल्चोकबाट इन्जिनियरिङमा ब्याचलर पास गरेपछि उनले लोकसेवा पास गरेर सडक विभागमा प्राविधिकको काम थालिन्। कामकै सिलसिलामा उनी देशका विभिन्न स्थानमा समेत पुगिन्।

तीन दशकको जागिरे जीवनलाई गत वर्ष मात्र विश्राम दिएकी उनले त्यसपछि दुई वटा गीत समेत रेकर्ड गरिसकिन्। व्यक्तिगत सहित जागिरे र कलाकारिता क्षेत्रबाट उनले भोगेका अनुभवहरू पुष्पाञ्जलीले उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी सुनाइन्।

०००

स्कुलमा काठका सामग्री निर्माण
मेरो बाल्यकाल गाउँकै बित्यो। पढाइ पनि गाउँकै लक्ष्मी माध्यमिक विद्यालयमा भयो। विद्यालयको संस्थापक नै मेरो बुवा हुनुहुन्थ्यो।

अरु गाउँको हेरिकन स्कुल पढ्न हामीलाई सुविधै थियो। आधा घण्टा मात्र हिँडे पुग्थ्यो। तर, त्यसअघि दुई घण्टाको बाटो डोकामा पानी ल्याएपछि मात्र विद्यालय जानुपर्थ्यो। पानीको साह्रै समस्या थियो त्यो बेला। बिजुलीको सुविधा पनि थिएन। टुकी बत्तीकै भरमा पढ्नुपर्थ्यो।

मेरो बुवा पढेलेखेकै हुनाले हामीलाई पढ्न प्रोत्साहित गर्नुहुन्थ्यो। त्यहि भएर होला हामी चारै जना छोराछोरीले राम्रै पढ्यौँ। म घरकी जेठी छोरी। अरु बहिनी र भाइ छन्।

त्यतिबेला आठ कक्षा पुगेपछि कुन विषय छान्ने भन्ने हुन्थ्यो। हाम्रो स्कुलमा काठको काम गर्ने व्यावसायिक विषय मात्र थियो। बेन्च, डेक्स, टेबल लगायत काठका सामग्री बनाउनुपर्ने भए पनि त्यसका लागि आधुनिक औजार थिएन।

काठ चिर्नका लागि आरा, छिनो, बसिला, रन्दाको प्रयोग गर्नुपर्ने हुन्थ्यो। मैले त्यतिबेला बेन्च, डेक्स, टेबुल बनाउने सीप जानिसकेको थिएँ। हामीले बनाएका सामग्री विद्यालयमा प्रयोग हुन्थे।

त्यति मात्र होइन, हामीलाई इँटा बनाउन पनि सिकाइन्थ्यो। व्यावसायिक विषयको कार्यशालामा विद्यार्थीले नयाँ सीप सिक्न पाउँथे, जुन भविष्यमा पनि काम आउँथ्यो।

त्यतिबेला स्कुलको कक्षा कोठामा केटाकेटी छुट्टा छुट्टै राखिन्थ्यो। एकै ठाउँमा बस्दैनथे। कार्यशालाको समयमा भने सबै मिलेर नै काम गरिन्थ्यो। सिभिल इन्जिनियर पढ्दा ४० सालतिर पनि त्यस्तै नै थियो। तर, प्राक्टिकल भने समूहमा हुन्थ्यो।

श्रमदानले विद्यालय बन्थे
०३८ सालतिर मैले एसएलसी दिँदा स्कुलहरू आधुनिक थिएन। सानातिना नै हुन्थेँ। सरकारसँग पनि आर्थिक स्रोत हुँदैनथ्यो अनि श्रमदानबाट स्कुल बनाउने गरिन्थ्यो। त्यो बेलामा सबै समुदाय मिलेर स्कुल बनाएको मलाई अहिले पनि याद छ। तर एसएलसीसम्म आइपुग्दा एकदमै न्यून विद्यार्थी हुन्थ्यौँ।

स्कुल पढ्नका लागि को बाहुन, को क्षेत्री, को दलित भन्ने कुनै विभेद थिएन। नयाँ शिक्षा भनेर २०२८ सालमा सुरु भएको थियो क्या रे। त्यतिबेला सबैतिर पढ्नका लागि सरकारले नै गाउँ-गाउँमा चेतना जगाएको थियो। सरकारले पढ्नका लागि प्रोत्साहित गरिहेको हुन्थ्यो।

मलाई त्यतिबेलाको त्यो चर्चा अहिले पनि अलिअलि थाहा छ। गाउँले परिवेशमा आर्थिक स्रोत आय आर्जन कम हुने भएकाले धेरै पढन खोज्दैनथे। उनीहरूलाई पढ्न भन्दा पनि कामको महत्व बढी थियो।

एउटै बसमा काठमाडौं छिरे भाग्य
मैले एसएलसी दिएपछि काठमाडौं आउनुपर्ने भयो। त्यतिबेला काठमाडौं आउन त्यति सहज थिएन। घरबाट २/३ घण्टा हिँडेपछि पृथ्वी राजमार्गको डुम्रे भन्ने ठाउँमा आइपुगिन्थ्यो। अनि पोखराबाट आउने बस चढेर काठमाडौं आइन्थ्यो।

त्यतिबेला के हुन्थ्यो भने एउटै बस चढेर काठमाडौं आइपुग्न भाग्यमानीले मात्रै पाउँथे। डुम्रेबाट काठमाडौं आउन कम्तीमा पनि दुई वटा बस फेर्नुपर्थ्यो। बढीमा चार वटासम्म।

नेपालमा चल्ने अधिकांश बस पुराना थिए। त्यसकारण केही किलोमिटर यात्रा गरेपछि ती बस बिग्रन्थे अनि अर्कोमा चढ्नुपर्थ्यो। त्यो बेला त के भन्ने र? कुन बस कति बेला कहाँ बिग्रिन्थ्यो पत्तै नहुने। धेरै पटक यस्ता घटनाहरू भोगेँ।

अमृत साइन्समा लौरो बोकेका प्रहरी
त्यतिबेला अमृत साइन्स क्याम्पस एकदमै फेमस थियो। त्यसैले देशैभरिका विद्यार्थीहरू यो क्याम्पसमा पढ्न आउँथे। कोही साँच्चिकै पढ्न भनेर आउथेँ भने कोही राजनीति गर्नका लागि।

त्यतिबेला म पढ्ने कक्षामा बोर्ड फस्ट हुने देखि लिएर काठमाडौंको बोर्डिङमा पढेका अंग्रेजी जान्ने जान्ने विद्यार्थी हुन्थेँ। म गाउँमा पढेको हुनाले अंग्रेजीमा उनीहरू जतिको थिइन। उनीहरूसँग प्रतिष्पर्धा गर्न गाह्रो हुन्थ्यो। केही वर्ष पढेपछि र मेहनत गरेपछि त्यसमा पनि राम्रै भयो। त्यतिबेला साइन्स अंग्रेजी भाषामा नै पढाइ हुन्थ्यो। तर, मैले मेहनत गरेर पढेपछि राम्रै नतिजा ल्याएँ।

त्यति बेलाको नेपालमा पञ्चायत व्यवस्थाको विरोध चर्किएरहेको थियो। क्याम्पसमा दिनै जस्तो प्रहरीहरू लाठी लिएर उभिएका हुन्थेँ। कतिसम्म हुन्थ्यो भने त्यतिबेला म आइएस्सी पढ्दाको समयमा एउटा ब्याजको परीक्षा नै नभएर दुईटा ब्याजको एकै पटक पनि भएको थियो। आन्दोलनले परीक्षा हुन नदिएपछि अर्को साल बल्ल-बल्ल हुन्थ्यो। आन्दोलनकारीले पढ्ने वातावरण नै बन्न दिँदैनथे। मेरो त्यतिबेला पढाइमा मेरो दुई वर्ष खेर गयो।

एक दिन क्याम्पसमा आन्दोलन चर्किएको थियो। कलेज अगाडि प्रहरीहरू तैनाथ थिए। प्रहरीहरू लाठी र डन्डी बोकेर कलेजभित्र छिरिरहेका थिए। अनि त्यतिबेला भाग्न सफल भैयो। पुलिसले को आन्दोलनकारी, को विद्याार्थी चिन्दैनथे। जो अगाडि भेट्यो समातेर लगिहाल्थ्यो। निकै पटक भाग्नुपर्ने अवस्था आइलाग्यो।

​​​​​​​त्यस्तो हुलदङ्गा हुँदा पनि क्याम्पस नपढौँ, अब छोडौँ भन्ने चाहिँ भएन।

कामको सिलसिलामा आफ्नै विरोध 
पढाइपछि २०४९ सालमा सरकारी जागिरमा प्रवेश गरेँ। तृतीय श्रेणीबाट प्रवेश गरेको थिएँ। धनकुटा, सिन्धुपाल्चोक, काठमाडौं र तराईका केही जिल्लाहरूमा रहेर काम गरेँ।

धनकुटामा हुँदा मैले धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा गरी चार वटा जिल्लाको बाटो हेर्नुपर्थ्यो। कामको सिलसिलामा धेरै नै स्थानीय, नेताहरूले सडकको काममा अवरोध गर्ने कोसिस गर्नुहुन्थ्यो।

भेडेटार-धनकुटाको बाटो बढाउने क्रममा चर्को विरोध भयो। स्थानीयहरू विरोध प्रदर्शनमा उत्रिए। उसै त सानो सडक, त्यसमाथि स्थानीयले त्यहि सडक पनि मिचेर घर बनाएपछि केही घर नै भत्काउनुपरेको थियो।

त्यस क्रममा स्थानीय नेता तथा कार्यकर्ताले हामीलाई घेरेका थिए। ती नेताहरू पनि कार्यकर्ताको लहैलहैमा आएका रहेछन्, भोट बढाउन। सम्झाउन हम्मेहम्मे परे पनि काम त गराउनु नै थियो। सम्झाएर पठाएपछि बल्ल काम भयो।

काम गरेपछि जस, अपजस जे पाए पनि स्वीकार्नै पर्छ। लगभग तीन दशकको सरकारी जागिरको क्रममा त्यस्ता धेरै अनुभव सङ्गाल्ने अवसर पाएँ।

अवकाशपछि गीत लेखन र प्रकाशन
२०८० भदौमा मैले उमेर हदका कारण अनिवार्य अवकाश पाएँ। ५८ वर्ष पुगेपछि अवकाश हुनुपर्ने सरकारी नियम छ। अवकाशपछिको समय पूरै खाली भएँ। कतिपय डाक्टर, इन्जिनियर लगायतले पनि गीत लेखन गरेको थाहा पाएपछि मलाई पनि लेख्न मन लाग्यो अनि लेखेँ तीजको गीत ‘सासु बुहारी सधैँ मिली’।

एक समय तीजमा सासु बुहारीको मनमुटावको गीतहरूको बाढी नै आएको थियो। त्यसरी गीत आएको सन्दर्भमा मिलेर बसेको गीत किन नलेख्ने भन्ने सोच आएपछि गत वर्ष नै मैले यो गीत लेखेको हुँ। भिडियो पनि बनाएको छु।

अवकाश पाएपछि मैले दुई वटा गीत लेखेर सार्वजनिक गरिसकेको छु। तीजको गीत लोचन भट्टराईले गाउनुभएको छ भने अर्को राजनीतिक र हाँस्यव्यङ्ग गीतमा काव्य आचार्यको स्वर छ।

साउन १७, २०८१ बिहीबार १२:३७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।