केदारनाथ यात्रा स्थगित गर्न उत्तराखण्ड प्रहरीको अपील

केदारनाथ यात्रा स्थगित गर्न उत्तराखण्ड प्रहरीको अपील

एजेन्सी : भारतको उत्तराखण्ड प्रहरीले केदारनाथ यात्रा स्थगित गर्न अपील गरेको छ।

बुधबार राति परेको भीषण वर्षाका कारण भारतको उत्तराखण्डस्थित केदार उपत्यकामा धेरै क्षति भएपछि प्रहरीले यस्तो अपील गरेको हो।

केदारनाथ हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो। हरेक वर्ष लाखौं शिवभक्तहरू केदारनाथको यात्रा गर्ने गर्छन्। नेपालबाट समेत हरेक वर्ष धेरै मानिस केदारनाथ पुगेका हुन्छन्।

भीषण वर्षाका कारण सोनप्रयाग बाहिरको सडक र भिम्बालीमा एमआरपी नजिक २० देखि २५ मिटर फुटपाथ बगेको छ। ठूला ढुङ्गासहितको पहिरो खस्दा सडक अवरुद्ध छ। घटनास्थलमा उद्धार टोली परिचालन गरिएको छ।

भिम्बालीको गेस्ट हाउसमा करिब दुई सय यात्रुलाई रोकिएका छन्।

प्रहरी प्रशासनका अनुसार खोलाको कटान र पहाड भत्किँदा सोनप्रयागको मुख्य बजारभन्दा करिब एक किलोमिटर अगाडिको सडकको ठूलो हिस्सा बगेको छ।

त्यसैगरी गौरीकुण्ड वरपर जङ्गलचट्टीदेखि भिमवली बीचको लिञ्चोली क्षेत्रका धेरै ठाउँमा फुटपाथमा क्षति पुगेको छ।

रुद्रप्रयाग जिल्ला पुगेका यात्रुहरू जहाँ भए पनि सुरक्षित रहन प्रहरी प्रशासनले आग्रह गरेको छ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै जिल्लामा बिहीबार सबै विद्यालय र आङ्गनवाडीमा बिदा दिइएको छ।

साउन १६, २०८१ बिहीबार ११:४३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।