नेपाली दूतावासले जारी गर्‍यो एडभाइजरी, भन्यो- ‘लेबनानमा रहेका नेपालीहरूलाई सतर्क रहनू’

नेपाली दूतावासले जारी गर्‍यो एडभाइजरी, भन्यो- ‘लेबनानमा रहेका नेपालीहरूलाई सतर्क रहनू’

काठमाडौं : लेबनानको राजधानी बेरुतमा रहेकाे अवैतनिक नेपाली वाणिज्यदूतावासले नेपालीहरूका आवश्यक सतर्कता तथा सावधानी अपनाउन आग्रह गरेको छ।

बुधबार इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाह कमाण्डर फाउद शुक्रलाई मारेको दाबी गरेको थियो। यसपछि तेहरानमा हमासका शीर्ष नेता इस्माइल हनियाको हत्याको खबर बाहिर आएको छ।

मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अनुमान भइरहेको सन्दर्भमा लेबनानमा रहेका नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन एवं सहायताका लागि इजिप्टस्थित नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासले आग्रह गरेको हो।

लेबनानमा नेपालको छुट्टै दूतावास छैन। इजिप्टमा रहेको दूतावासले नै लेबनानको मामला हेर्दै आएको छ।

साथै, लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक तुल्याउने लागि दूतावासको वेबसाइटमा रहेको लिंकमार्फत आवश्यक विवरण उपलब्ध गराउनका लागि समेत दूतावासले आग्रह गरेको छ।

राजदूतावासले विकसित घटनाक्रमको निरन्तर अनुगमन गरिरहेको एवं नेपाली नागरिकहरूको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्यदूतावास मार्फत् सम्बन्धित निकायहरूसँग सम्पर्क र समन्वय गरिरहेको समेत जानकारी गराएको छ।

दूतावासले सहायताका लागि इजिप्टको कायरोमा द्वीतिय सचिव दीपक घमिरे (+201097772348) र तृतीय सचिव माधवराज काफ्ले (+201002505997) लाई सम्पर्क गर्न आग्रह गरेको छ।

यस्तै बेरुतका लागि अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायल (+9613301181/+96171688821/+96181883713) सम्पर्क गर्न भनेको छ।

साउन १६, २०८१ बिहीबार ०७:४७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।