मन्त्रिपरिषद्को निर्णय २४ घण्टा अगाडि चुहिन नदिन स्रोतमा कस्दै सरकारी प्रवक्ता

मन्त्रिपरिषद्को निर्णय २४ घण्टा अगाडि चुहिन नदिन स्रोतमा कस्दै सरकारी प्रवक्ता

काठमाडौँ : कांग्रेस-एमालेको नेतृत्वमा सरकार बनेसँगै पहिलो मन्त्रिपरिषद् बैठकबाटै मन्त्रिपरिषद्का निर्णयहरू २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने निर्णय गर्यो। यस भन्दा अगाडि सरकारकी प्रवक्ता रहेकी रेखा शर्माले बैठकबाट बाहिरिनेक्रममा महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै विस्तृत २४ घण्टापछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आएकी थिइन्।

सरकारले मन्त्रीपरिषद्को निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने भने पनि अनौपचारिक रूपमा निर्णयहरू चुहिएर समाचार बनिरहेका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्तिदेखि तीन वटा प्रदेशको प्रमुख बदलेर नयाँ नियुक्त गर्न गरेको निर्णय मात्र बाहिरिएन सबै नाम समेत बाहिरियो।

सरुवा भएका सचिवहरूको नामावली नै बाहिरियो। त्यही बासी सूचना  सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे। उनले सार्वजनिक गरेको विवरण सोमबार स्रोत उल्लेख गरेर सार्वजनिक भएको विवरणको हुबहु थियो।

सहज रूपमा सूचना सार्वजनिक नभए स्रोत प्रयोग गरेर समाचार लेख्नु सञ्चारकर्मीको दायित्व नै हो। सरकारले सहज रूपमा निर्णय सार्वजनिक गर्दा परिपक्व सूचना सार्वजनिक हुन्छ। लुकाएर सार्वजनिक हुने सामान्य सूचनालाई २४ घण्टा लुकाउनुको अर्थ देखिन्न। 

तर सरकारकी प्रवक्ता गुरुङ गम्भीर प्रकृतिमा बाहेक सरुवा वा सिफारिस जस्ता सामान्य निर्णय सहजै सार्वजनिक गर्ने भन्दा पनि मन्त्रिपरिषद्को निर्णय अनौपचारिक रूपमा चुहिएपछि थप कडाइ गर्ने पक्षमा देखिएका छन्।

निर्णय भएकै दिन मन्त्रिपरिषद्को निर्णय समाचार बनिरहेको अवस्थामा २४ घण्टा लुकाउनुको के अर्थ भनेर बुधवार केही सञ्चारकर्मीले राखेको जिज्ञासा गुरुङले नियममा, ओहदामा बस्नेहरूले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताउँदै आगामी दिनमा सूचना चुहाउन नदिन लाग्ने बताए। 

साउन १५, २०८१ बुधबार २२:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।