ज्येष्ठ नागरिकलाई घरमै पुगेर राष्ट्रिय परिचयपत्र दिन गृहमन्त्रीको निर्देशन

ज्येष्ठ नागरिकलाई घरमै पुगेर राष्ट्रिय परिचयपत्र दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरणको कामलाई तीव्र बनाउन निर्देशन दिए। बुधवार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षणमा गएका उनले राष्ट्रिय परिचयपत्र वितरणको काम सुस्त भएको बताए।

‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण सङ्कलन भइसकेको छ। कार्ड छपाई ४३ लाख भइसकेको छ। ७६ लाख कार्ड छाप्न बाँकी छ,’ उनले भने, ‘वितरणको सङ्ख्या एक दम कम भयो। ८ लाख ४७ हजार मात्र हामीले वितरण गर्यौ। वितरणको पाटोलाई तीव्रता दिनुहोला।’

उनले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको भन्दै यो राज्यको भविष्यसँग जोडिएको बताए। ज्येष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने गरी अगाडि बढ्न समेत उनले निर्देशन दिए।

‘सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने कुरा व्यवहारिक थिएन। सामाजिक सुरक्षा भत्ताका लागि त्यो अनिवार्य नगर्ने निर्णय उचित हो। तर, ज्येष्ठ नागरिक बाहेकका हकमा अनिवार्य गरौँ। ज्येष्ठ नागरिकलाई घर–घर गएर राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने नीति बनाऔँ,’ उनले भने।

राष्ट्रिय परिचयपत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाहरूले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने गृहमन्त्री लेखकको भनाइ थियो।

‘अनुदानसँग जोड्दा राष्ट्रिय परिचयपत्र लिने मान्छे भन्दा पनि दिने मान्छेले पहल लिन्छ। वडाध्यक्ष नै राष्ट्रिय परिचयपत्र लिइदिनुपर्यो भनेर घर-घर जान थाल्नुहुन्छ। त्यसपछि राष्ट्रिय परिचयपत्र वितरण अभियान सफल हुन्छ,’ उनले भने।

राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक युवराज कटेललाई गृहमन्त्री लेखकले निर्देशन दिए।

‘यसलाई तपाईँहरू अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउनुहोस् । हामी सम्बन्धित निकायमा पठाएर अगाडि बढाएर लैजान्छौँ,’ उनले भने।

साउन १५, २०८१ बुधबार २०:३२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।