राजदूत बनाउने देउवाको आश्वासनमा भर पर्दा वैरागीले सुरक्षा सल्लाहकारको पद पनि गुमाए

राजदूत बनाउने देउवाको आश्वासनमा भर पर्दा वैरागीले सुरक्षा सल्लाहकारको पद पनि गुमाए

काठमाडौँ : नेपाली कांग्रेसको कोटामा भारतका लागि नेपाली राजदूत बन्न राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा दिएका थिए शंकरदास वैरागीले। विभिन्न देशहरूमा रिक्त रहेको राजदूत नियुक्तीबारे प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएसँगै वैरागीले भारतको लागि राजदूत बनाउने आश्वासन पाएका थिए।

जानकारस्रोतका अनुसार प्रारम्भमा देउवाले शङ्कर शर्मालाई नै निरन्तरता दिन चाहेका थिए। तर प्रधानमन्त्री ओलीले फिर्ता बोलाइसकेको व्यक्तिलाई दोहोर्याउन इच्छुक नभएपछि वैरागीको नाम आएको थियो।

राजदूत बन्ने देखिएपछि पूर्व मुख्यसचिव वैरागीले साउन ९ गते राष्ट्रिय सुरक्षा सल्लाहकार पदबाट राजीनामा दिए। एमालेको कोटामा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी पनि राजदूतमा सिफारिस भइसकेका थिए।

माओवादी-एमाले सरकारबाट भारतका लागि राजदूतमा सिफारिस भएका उनको देश बदलिए पनि राजदूत हुने पक्का थियो। एकै पटक दुई पूर्व मुख्यसचिवलाई राजदूत बनाउँदा आलोचना हुने भनेर ‌ओली अन्तमा देउवाको पहिलेको प्रस्तावमा सहमत भए। अन्तमा मन्त्रिपरिषद्ले १८ देशका लागि राजदूतको नाम सिफारिस गर्दा भारतका लागि शर्माको नाम सिफारिस भयो वैरागी परेनन्।

यस अगाडि वैरागीले मुख्यसचिवको कार्यकाल बाँकी रहेकै बेलामा राष्ट्रिय सुरक्षा सल्लाहकार पद स्वीकार गरेर वैकुण्ठ अर्याललाई मुख्यसचिव हुने बाटो खोलेका थिए। उनले पुरा कार्यकाल मुख्यसचिव पद लिएको भए अर्याल मुख्यसचिव हुन पाउँदैनथे। सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद निर्माण गरेर उनलाई सरुवा गरेकै दिन अर्याललाई मुख्यसचिव बनाएको थियो। अर्याल अहिले भ्रष्टाचारको अभियोग लागेर निलम्बनमा छन्।

साउन १६, २०८१ बुधबार १७:०९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।