वाइडबडी मर्मतको ठेक्कामा बदमासी, कार्यकारी निर्देशक अधिकारीमाथि छानबिन समितिले प्रश्न उठायो

वाइडबडी मर्मतको ठेक्कामा बदमासी, कार्यकारी निर्देशक अधिकारीमाथि छानबिन समितिले प्रश्न उठायो

काठमाडौँ- नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज सी–चेक (विस्तृत मर्मत सम्भार)मा न्यारोबडी ए–३२० जहाजको इन्जिन मर्मत ठेक्कामा बदमासी भएको छानबिनमा खुलेको छ।

सी चेक लगायतका विषय विवादमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले असार १८ मा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको नेतृत्वको छानबिन समिति गठन गरेका थिए।

दुवै प्रकरणबारे छानबिन गर्न गठित समितिले गम्भीर कैफियत देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा १ सय ४९ दिनसम्म विमान इजरायलमा ग्राउन्डेड हुनुमा नियमका कार्यकारी निर्देशक युवराज अधिकारीलाई दोषी ठहर्याएको छ।

निगमको ए-३२० न्यारोबडी जहाज मर्मतका लागि २०२३ सेप्टेम्बर १७ मा इजरायल पठाइएको थियो। ३० नोभेम्बरमा सोही न्यारोबडीको अर्को इन्जिन बिग्रिएपछि पहिला नै बनाउन पठाएको इन्जिन समयमा नआउँदा विमान १ सय ४९ दिनसम्म इजरायलमै ग्राउन्डेड भएको थियो।

प्रतिवेदनमा विमान सञ्चालनमा आएको ७ वर्ष भए पनि जगेडा इन्जिन नराख्नु गम्भीर लापरबाही भएको उल्लेख गरेको छ। निगमको दुई वटा ए–३२० विमानका लागि समेत जगेडा इन्जिन नभएको र इन्जिनमा कुनै समस्या आए जहाज ग्राउन्डेड हुने प्रतिवेदनमा उल्लेख छ।

निगमले सी–चेकका लागि टेन्डर आव्हान गर्दा चीनको ग्राण्ड चाइना एभिएसन र इटलीको एटिटेकले आवेदन दिएका थिए। ग्राण्ड चाइना २० दिनमा सी चेक गर्ने र एटिटेकले ३० दिनमा सी–चेक गर्ने उल्लेख गरेको थियो।

त्यसका लागि एटिटेकले ७ लाख ३४ हजार २५० शुल्क र ग्राण्ड चाइनाले ७ लाख ९८ हजार ५ सय अमेरिकी डलर प्रस्ताव गरेपछि एटिटेकले ठेक्का पाएको थियो। बोलपत्र आव्हान गर्ने प्रक्रिया ढिला गरेको, आफू निकटको कम्पनीलाई टेन्डर पार्न नियमानुसार सूचनामा महत्त्वपूर्ण विषयहरू उल्लेख नगरेको, सिलबन्दी बोलपत्र नखोलेर त्रुटिपूर्ण रूपमा म्याद थप गरेको, सी–चेकका लागि कम्पनी छनौट गर्दा ग्राण्ड चाइना एभिएसनको तर्फबाट विरोध गरी कैफियत उल्लेख गरेको विषयलाई बेवास्ता गर्दै र जहाज मर्मतका लागि इटाली लगेको प्रतिवेदनमा उल्लेख छ।

साउन १५, २०८१ बुधबार १६:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।