ती दिन : वीथ हाकु ठुल्दाइ
हाम्रा छिमेकमा लामै समय रहे-हाकु ठुल्दाइ। दाइको नाम अरू नै केही होला, घरेलु नाम र स्थानीय पहिचानको नाम हाकु नै रह्यो।
हाकु नेवारी शब्द रहेछ र यसको अर्थ हुने रहेछ-कालो। हाकु दाइ अलिक कालाकालै पनि थिए : काला र पातला। यिनको नाम यिनको रूपरंगसंग गाँसिएको पो थियो कि!
उसो त बाबुआमाले मायाले सन्तानलाई जे नाम दिन पनि सक्छन्। मलाई पनि बा‘काले’ भन्नु हुन्थ्यो। बाले मलाई दिएको नाममा समुदायको के कुरा, परिवारकै सदस्यको पनि समर्थन रहेन। सके बा यो नाम स्थापित गराउनु पनि चाहनु हुन्थेन। हाकु ठुल्दाइको यो नाम भने प्रचलनमै आयो। हामी पनि हाकु ठुल्दाइ नै भन्थ्यौँ।
व्यवहार चलेकै थियो, उनको औपचारिक नामका बारेमा सोधखोजै भएन। (बरु यो लेखिरहेको क्षणमा भने म त्यो भुल महसुस गर्दैछु। यहाँ उनको औपचारिक नाम चैँ यो थियो भन्न पाएको भए केही आनन्द लाग्ने थियो।)
मेरो बाल्यकालका अभिन्न पात्र हुन्-हाकु ठुल्दाइ।
हाकु ठुल्दाइसंगको मेरो लामो संगत गाई हेर्न जाने सन्दर्भमा भयो। हामीले कयौँ दिन सँगसँगै गाईभैसी चराएका छौँ।
२०२३ सालमा एउटा ठुलो बाढी मार्फत दाहाखोलाले कयौँ किसानलाई उठिबास लगाउने र हामी गाई गोठालाहरूलाई गुन लगाउने गरी जम्मा दुई काम एकै झमटमा फत्ते गरेको थियो।
धानका बाला झुल्ने निजी खेतलाई बगर बनाएर चदाहाले जमिन माथिको निजी स्वामित्वलाई खोस्यो र सबै जनताको साझा बनाइदियो भन्ठानेर होला मानिसहरू साखामाडीदेखि नर्कटेसम्मको यो सालोढोलो बगरलाई ‘जनता बगर’भन्ने गर्दथे।
जनता बगरको सेतो बालुवामा कालान्तरमा काँसका जराबुटा देखिन्थे। ती जराबुटा बिस्तारै टुसाउँथे र गाँज हाल्थे। काँसका लहरा जमिनमा फैलिँदै जान्थे। काँसका लहरा जहाँ पुग्थ्यो, त्यहाँ पनि गाँज हाल्थ्यो। यसरी केही वर्षभित्र चदाहाको सेतो जनता बगर काँसैकाँसले ढाकिन्थ्यो। असोज कार्तिकतिर काँस फुलेपछि जनता बगर फेरि सेताम्मे हुन्थ्यो। हामी यही काँसमा बस्तु चराउने गर्दथ्यौँ। काँसमा हुल्दिए पछि गाईभैसी हाम्रो दृष्टिबाट हराउँथे। अब आफ्ना गाईबस्तु यता पुगे होलान् भन्ने सामान्य लेखाजोखा मात्र हुन सक्थ्यो।
कतिपय कृषकहरू हामीले गाई चराउने बगरमा काँसका जरा उखालेर केही स-साना फगटा-गाह्रा बनाएर दुःखका साथ मास छर्थे, धान रोप्थे। काँसमा छाडेका हाम्रा गाईभैसीले त्यो सबै एकै मेहरोमा चिलिम पारिदिन्थे।
किसानहरू हामीभन्दा अलि अग्लो र समूहमा अलि ठुलो देखेर हाकु ठुल्दाइलाई र्याखर्याख पार्थे। गर्नु गाली गर्थे। डराउन त हामी पनि डराउँथ्यौ, तै पनि हामीसँग हाकु ठुल्दाइ छन् भन्ने लाग्थ्यो। हाकु ठुल्दाइले आफ्नो बाहेक हाम्रो भागको पनि केही गाली खाइदिन्थे।
यी दिनमा हाकु ठुल्दाइले सिकाउन खोजेका दुई मुख्य विषयमध्ये बिडी खान भने म पास भएँ। यो पनि धेरै गाह्रो विषय रहेछ। कोक्याउने, बान्ता हुने र केही गरी धुवाँ निलियो भने उकुसमुकुस हुने। यसरी खाँदा पनि धुवाँ भित्रभित्रै दबाउन सकिएन वा धुवाँ नाकबाट निकाल्न सकिएन भने स्कोर नै नहुने।
यस कोर्समा मेरै ब्याचमा हुनुहुन्थ्यो स्वर्गीय देवु काका। सोह्र खहरेको पुछारको फडिरको बोटनेर बिडी स्वाट्ट तानेर धुवाँ भित्रभित्रै दबाउन खोज्दा बसिरहेको आलीबाट काका पुर्लुक्क हिलामा लडेको र काकाको आँखा फुस्रा भएको देखेपछि मैले पनि आफू पास हुने आस मारिसकेको थिएँ।
उचित समयमा उचित प्रोत्साहन पायो भने मानिसले जस्तै कठिन काम पनि गर्न सक्छ भन्ने कुराको एक उदाहरण म आफै हुँ। हाकु ठुल्दाइले ‘यसले सक्छ’ भनिदिएकै भरमा मैले यो कोर्स देबु काकाको भन्दा राम्रो स्कोरमा उत्तीर्ण गरेँ।
हाकु ठुल्दाइले सिकाउन खोजेको अर्को विषय हो डाले घाँस काट्ने। मैले यो सकिनँ। सक्दै सकिनँ। खेत र बारीको भुँइघाँस म अलिअलि काट्थेँ। अलिअलिको अर्थ बिहानभरिमा एक डोको। बा भन्नुहुन्थ्यो ‘यसले अरू काम गर्छ भने गरोस्; घाँस काट्न नपठाउनू।’ यस सवालमा म बालाई कहाँ टेर्थे र!
घाँस काट्नुका मेरो हकमा दुई रोचक पक्ष थिए
(१) अरूको बारीको घाँस चोर्नु।
(२) दिउँसो गाई चराउन जाँदा अरूको घाँस काट्दाका अनुभवमा आफ्ना कुरा पनि मिसाउन पाउनु।
हाम्रो खेत मात्र धेरै थियो, बारी थिएन। घर वरिपरि थोरैथोरै बारी। बारीमै पलाउने बन्सो। अनि अरूको बारीमा नपसेर भयो! अरूको बारीमा लुसुक्क पसेर घाँस काट्नुलाई तीन पाटनतिर ‘घाँस चोरेको’ भन्छन्। तर यो यस्तो आम कुरा थियो- मानिसहरू अर्काको बारीको घाँस चोर्थे र आफ्नो बारीको घाँस अरूले चोरेको देखेर चुक्चुकाउँथे।
भुइँघाँसका सन्दर्भमा मेरा दुई मुख्य दुःख थिए
१) लजवन्ती काँडा
२) कँचिया आफै।
घाँस त्यहीँ हुन्थ्यो; जहाँ लजवन्ती काँडा हुन्थ्यो। वास्तवमा लजवन्ती काँडाले घोच्ने डरले मानिसहरू जहाँ घाँस काट्दैनथे; अलि काट्न मिल्ने जस्तो घाँस म त्यही देख्थेँ। म जोगिन त खोज्थेँ। जोगिन जता ख्याल गर्थेँ; काँडाले अर्का तिरबाट दाउ लगाउँथ्यो।
र, कँचिया। यो भुत्ते भयो भने घाँस काट्नै गाह्रो। लाग्ने भयो भने हात जोगाउनै नसकिने। यसरी भुँइघाँस काट्ने सवालमा पनि म राम्रोसँग जम्न सकेको थिइनँ।
हाकु ठुल्दाइ घाँस काट्न जङ्गल जान लागेका रहेछन्।
भने- ‘जान्छस् ?’
ती दिनमा मलाई घरीघरी बिडीको तलतल लाग्न सुरु भइसकेको थियो।
भनेँ- ‘जान्छु।’
मेरो जवाफ घाँस काट्न भन्दा हाकु ठुल्दाइसंग बसेर मस्त बिँडी तान्न पाइने लोभबाट प्रेरित थियो। डाले घाँस काट्न कँचिया होइन, हँसिया आवश्यक पर्थ्यो। मैले नाम्लो र हँसिया बोकेर हाकु ठुल्दाइलाई पछ्याएँ।
डाले घाँस काट्न भुँइघाँस काट्दाको अनुभवले कुनै सहयोग गर्दैनथ्यो। डाले घाँस काट्न सुरेली खेल्दै रुख चढ्नु पर्थ्यो; एउटा हाँगामा आड लिएर अर्को हाँगालाई काट्नु पर्थ्यो ; हाँगा काट्न जस्तै हाँगा समाउन पनि शक्ति लगाउने अभ्यासको खाँचो पर्थ्यो ; एउटा खुट्टा कहाँ छ र अर्को खुट्टा कहाँ टेकिएको छ भन्ने बारेमा होसियार हुनु पर्थ्यो।
रुख नचढीकन काट्न सकिने घाँस अरूले नै निखारेका हुन्थे। रूख चढ्ने सवालमा अम्बा, धँगेरा र माझीबारका पोथ्रा सम्म चढ्ने र मेवा तथा आँप पनि घोचाले झार्ने म जस्तो मान्छेले आफै चढेर घाँस झार्ने रूख जङ्गलमा थिएन भने पनि हुन्छ।
हाकु दाइ आफैले रुख चढेर घाँस झारे, बटुलबाटुल पारेर भारी हाले। एउटा सानो भारी मेरा लागि पनि उनैले तयार गरिदिए। यस बिचमा मैले हाकु ठुल्दाइले रुखबाट झारेका घाँसका स-साना केही हाँगा बटुलबाटुल पारेँ। र, अर्को काम मैले दुई पटक जति सालको पातमा बिँडी बेरेँ हुँला।
घर पुग्दा नपुग्दै घाँसको भारी दुईचोटी होस्ल्याङ भयो। हाकु ठुल्दाइले नै कसकास पारी दिए। अर्को पटक पनि भारी फुक्न ठिक्क परेको थियो; घर पुग्यौँ।
मेरो सकस पहिले आमाले नै देख्नुभयो। भन्नु भयो- ’राम, राम! कता गयो भनेको त ...!’
पछि भन्नु हुन्थ्यो- ’जम्मा एक अङ्गालो जति घाँस, फुक्न लागेको भारी, त्यो पनि एकातिर कोल्टेको, बाङ्गो मुन्टो ...; कठै !’
त्यसपछि हाकु ठुल्दाइ कहिल्यै पनि घाँस काट्न जाँदा मलाई साथी बनाउन रुचाएनन्। पासमार्क धरी ल्याउन सक्दिनँ भन्ने भएपछि म पनि यस कठिन परीक्षामा सामेल हुन रौसिन।
साउन १६, २०८१ बुधबार १४:३३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।