नारायणकाजीको पालामा जोगिएका एआईजी ज्ञवाली छानबिनको दायरामा, एआइजी राईको नेतृत्वमा पाँच सदस्यीय समिति

नारायणकाजीको पालामा जोगिएका एआईजी ज्ञवाली छानबिनको दायरामा, एआइजी राईको नेतृत्वमा पाँच सदस्यीय समिति

काठमाडौं : प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआईजी श्याम ज्ञवालीबारे छानबिन गर्न समिति गठन गरेको छ। प्रशासन विभागका प्रमुख एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको हो।

प्रहरी प्रधान कार्यालयले औपचारिक रूपमा समिति गठनबारे केही जानकारी दिएको छैन। तर, स्रोतले समिति गठन भएर काम समेत सुरू गरिसकेको जानकारी दियो। स्रोतका अनुसार प्रधान कार्यालयमा रहेको उजुरी छानबिन निर्देशनालयमा उनीबारे आएको उजुरीको आधारमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले समिति गठन गरेका हुन्।

उजुरीमा मुख्य रूपमा सुन तस्करीमा फरार रहेका जीवन चलाउनेसँग उनको सम्बन्धबारे उल्लेख रहेको स्रोतले बतायो। सुन तस्करीमा फरार रहेका चलाउनेले ज्ञवालीले आफूसँग पैसा मागेको लगायतका आरोप लगाए पनि ज्ञवालीले अस्विकार गरेका थिए। यो प्रकरणमा व्यवसायी रवि केसी समेत जोडिएका थिए।

चलाउनेले ज्ञवालीले आइजिपी हुनका लागि आफूसँग पैसा मागेको र रवि केसीसहित उनलाई भेट्न गएको दाबी गरेका थिए।

केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको रूपमा काम गर्दा कार्यक्षेत्र बाहिर गएर काम गरेको, आर्थिक लेनदेन गरेको लगायतका विषयमा समेत ज्ञवालीमाथि आरोप लागेको छ।

ज्ञवाली उपत्यका प्रहरी कार्यालय प्रमुख हुँदा समेत छानबिनको दायरामा पर्न लागेका थिए। नक्कली भुटानी शरणार्थीको विषयमा आइजिपी कुँवर समेत संलग्न रहेको समाचार सार्वजनिक भएपछि कुँवरले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञवाली चेनअफ कमान्ड बाहिर गएर सङ्गठन प्रमुखलाई बदनाम गराउन सक्रिय रहेको भन्दै छानबिन गर्न माग गरेका थिए।

कुँवरले गृहले छानबिन नगर्ने हो भने आफूले समिति गठन गरेर छानबिन गर्ने बताएपछि श्रेष्ठले गृहले छानबिन गर्ने आश्वासन दिए पनि उनले समिति गठन गरेनन्। रवि लामिछाने गृहमन्त्री भएसँगै ब्यूरोमा आएका उनले चेन अफ कमान्ड भत्काउँदै प्रहरी महानिरीक्षकलाई समेत जानकारी नदिई प्रहरी अप्रेशनहरू सञ्चालन गरेको आरोप लाग्दै आएको छ।

ब्यूरो प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतको निकाय हो। तर ज्ञवालीले तत्कालीन गृहमन्त्री लामिछानेसँग मिलेर समानान्तर सङ्गठन चलाउने प्रयास गरेको आरोप लाग्दै आएको थियो। सङ्गठन प्रमुखलाई जानकारी नदिई धरपकड गराउने, ब्यूरोको अनुसन्धानको दायरामा नपरेका विषयमा समेत हस्तक्षेप गरेर जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिने लगायतका गतिविधिमा ज्ञवाली सक्रिय देखिएका थिए।

साउन १५, २०८१ बुधबार १३:३४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।