सिमलतालबाट त्रिशूलीमा बगेको बस खोज्न चीनको सहयोग माग्दै सरकार

सिमलतालबाट त्रिशूलीमा बगेको बस खोज्न चीनको सहयोग माग्दै सरकार

काठमाडौँ : पहिरोको लेदोसँगै बगेर त्रिशूलीमा यात्रुसहित हराएको बस खोज्न भारतीय गोताखोर समेत असफल भएपछि अब सरकारले चीन सरकारको सहयोग माग्ने भएको छ। सशस्त्र प्रहरीको गोताखोर बस र यात्रु खोज्न असफल भएपछि सरकारले भारत सरकारसँग आग्रह गरेर भारतीय गोताखोर मगाएको थियो।

तर भारतीय गोताखोरले समेत हराएको बस र यात्रुहरू खोज्न नसकेपछि फिर्ता गइसकेका छन्। गृह सचिव एकनारायण अर्यालले बुधवार हराएको बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको जानकारी दिए।

बुधवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले त्रिशूलीमा हराइरहेका यात्रु र बस खोज्न चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिए।

असार २८ गते बिहान मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमलतालमा पहिरोसँगै आएको लेदोले बगाएर दुई वटा यात्रुवाहक बस त्रिशूलीमा पूर्याएको थियो। दुवै बसमा गरेर ६५ यात्रु थिए। ६५ मध्ये ३ जना यात्रु पौडिएर नदीबाट बाहिरिए बाँचेका थिए। ६३ जना खोलामा हराएकोमा २४ जनाको शव विभिन्न स्थानमा भेटिएको थियो। अहिले पनि २९ जना यात्रु दुई वटा बससँगै हराइरहेका छन्।

प्रारम्भमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जनशक्तिले बस खोज्ने प्रयास गरेका थिए। तर निरन्तर वर्षाका कारण नदीमा पानीको सतह बढेको र पनि धमिलो हुँदा बस र यात्रुहरू फेला परेनन्। जति पनि शवहरू फेला परे ती नदीले बगाएर लगेकाहरू हुन्। भारतसम्म यात्रुको शव पुगेको थियो।

साउन १५, २०८१ बुधबार १२:४६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।