भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो, ९८ जना बेपत्ता

भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो, ९८ जना बेपत्ता

एजेन्सी : भारतको केरला राज्यस्थित वायनाडमा सोमबार र मंगलबारको मध्यरातमा आएको पहिरोमा परी अहिलेसम्म १४४ जनाको मृत्यु भएको छ।

मुख्यमन्त्री कार्यालयका एक अधिकारीका अनुसार अहिलेसम्म मेप्पडीमा ९० र निलाम्बुरमा ३२ जनाको मृत्यु भएको छ।

घाइते १९२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्दार टोली गम्भीर प्रभावित क्षेत्रमा पुग्न नसक्दा बेपत्ताको संख्या ९८ पुगेको छ।

मापिडको चिया बगानमा कति मानिस बस्दै आएका थिए भन्ने अहिलेसम्म एकीन नभएको बाल कल्याण समितिले जनाएको छ।

समितिका अनुसार मेप्पडीमा विशेषगरी असम र पश्चिम बंगालका मानिसहरू बसोबास गर्छन्। मेप्पडीस्थित शिविरमा १५० बालबालिकालाई अन्य व्यक्तिसहित राखिएको छ।

सोमबार र मङ्गलबार राति १ बजेदेखि ४ बजेको बीचमा तीनवटा पहिरोले वायनाडको चुरामाला, मुन्डक्काइ जस्ता क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो।

वायनाडमा पहिरोको घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ।

साउन १५, २०८१ बुधबार ११:५६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।