कोचिङको बेसमेन्टमा डुबेर तीन विद्यार्थीको मृत्यु भएकोबारे भाइरल शिक्षक विकास दिव्यकीर्तिले मुख खोले

कोचिङको बेसमेन्टमा डुबेर तीन विद्यार्थीको मृत्यु भएकोबारे भाइरल शिक्षक विकास दिव्यकीर्तिले मुख खोले

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीस्थित राजेन्द्र नगरमा भएको दुर्घटनाबारे दृष्टि आईएएस कोचिङका संस्थापक एवं भाइरल शिक्षक विकास दिव्यकीर्तिले मौनता तोडेका छन्।

मंगलबार समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उनले मौनता तोडेका हुन्। उनले आफूहरूबाट गल्ती भएको स्वीकार गर्दै त्यसको पछाडि खराब नियत भने नरहेको तर्क गरेका छन्।

दिल्लीको राजेन्द्रनगर स्थित राव आईएएस नामक कोचिङ सेन्टरको बेसमेन्टमा शनिबार साँझ पानी भरिँदा डुबेर तीन विद्यार्थीको मृत्यु भएको थियो। बेसमेन्टमा कोचिङ सेन्टरले लाइब्रेरी सञ्चालन गरेको थियो।

घटनापछि भारतको संघ लोक सेवा आयोग (युपीएससी)को तयारी गरिरहेका लाखौं विद्यार्थीले प्रदर्शन गरिरहेका छन्। शनिबारको घटनाबारे मौनता साँधेको भन्दै विद्यार्थीहरूले दृष्टि आईएएस कोचिङ र संस्थापक विकास दिव्यकीर्तिको घर अगाडिसमेत प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूको चर्को दबाबपछि विकासले आफ्नो धारणा राख्दै भने, ‘हामीबाट गल्ती भएको छ। तर, हाम्रो नियत खराब थिएन।’

दिव्यकीर्तिले दिल्लीमा एक हजारभन्दा बढी कोचिङ सेन्टर भए पनि तीमध्ये कुनै पनि सेन्टरसँग शिक्षण संस्थाहरूको लागि आवश्यक पर्ने फायर एनओसी नभएको बताए।

उनले करोबागमा भएको आफ्नो कोचिङ सेन्टरको बेसमेन्टमा अफिस सञ्चालनको लागि अनुमति भएको दाबी गरेर। अनुमतिमा बेसमेन्टमा अफिस चलाउन सकिने भनेपछि आफूहरुले त्यहाँ अफिस नै चलाइरहेको उनको भनाइ छ।

दिव्यकीर्तिले असुरक्षित तरिकाले कक्षा चलिरहेको अवस्थामा आफ्नै कोचिङ सेन्टर भए पनि दिल्ली नगर निगमले कडा कारबाही गर्नुपर्ने बताए। यद्यपि यसका लागि सरकारको तर्फबाट एक पारदर्शी नीति बन्नुपर्ने उनको भनाइ छ।

तीन विद्यार्थीको मृत्यु भएपछि दिल्ली प्रहरीले राव आईएएस कोचिङ सेन्टरका सञ्चालक, प्रबन्ध निर्देशक, घरधनी सहित एक कार चालकलाई समेत पक्राउ गरेर १४ दिनको न्यायिक हिरासतमा राखेको छ।

बेसमेन्टमा पानी आउनबाट रोक्न घरधनीले लगाएको फलामे ढोका र प्लास्टिक लगाएको अवस्थामा सडकमा कार गुडेपछि फलामे ढोका र प्लास्टिकले त्यसको बहाव थाम्न नकसेर बेसमेन्टमा पानी छिरेको थियो। पानी परेको समयमा कार चलाएको भन्दै ती कार चालकलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

साउन १५, २०८१ बुधबार १०:४३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।