रिंकु र सूर्यकुमारको घातक बलिङले हारिसकेको खेल समेत भारतले जित्यो
एजेन्सी : भारत र श्रीलंकाबीचको टी-२० सिरिजको अन्तिम खेलमा भारतले सुपर ओभरमा श्रीलंकालाई पराजित गर्दै सिरिज जितेको छ। दुई देशबीचको कम स्कोरको रोमाञ्चक खेलमा भारत विजयी भएको हो।
पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा १३७ रन बनाएर श्रीलंकालाई जितका लागि १३८ रनको लक्ष्य दिएको थियो।
जवाफमा श्रीलंकाको टोलीले उत्कृष्ट सुरुवात गरेको थियो। १५ ओभरको अन्त्यमा श्रीलंकाको स्कोर एक विकेटको क्षतिमा ११० रन थियो।
भारतीय टोलीको पराजय लगभग निश्चित जस्तो देखिन्थ्यो तर १५औं ओभरपछि खेल पूरै परिवर्तन भयो।
श्रीलंकाले बाँकी पाँच ओभरमा सात विकेट गुमाएर २७ रन मात्रै जोड्न सक्यो। कप्तान सूर्यकुमार यादवले १९औं ओभरमा रिंकु सिंह बल दिए।
रिंकुले १९औं ओभरमा मात्र तीन रन दिएर दुई विकेट लिए। २०औं ओभर बलिङ गर्न आएका कप्तान सूर्यले पाँच रन दिएर दुई विकेट लिए। जस कारण दुई देशबीचको खेल टाई भएको थियो।
सुपर ओभरमा ब्याटिङ गर्न आएको श्रीलंकाको टोलीले दुई रन मात्र बनाउन सक्यो। जवाफमा ब्याटिङ गर्न आएका भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै खेल जिताए।
साउन १५, २०८१ बुधबार ०९:०५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।