१७ गाउँलाई बेवास्ता गर्दै वडाध्यक्षले घर पायक कार्यालय सारेपछि...

१७ गाउँलाई बेवास्ता गर्दै वडाध्यक्षले घर पायक कार्यालय सारेपछि...

सुर्खेत : गत असार १० गते बसेको चौकुने गाउँपालिकाको कार्यपालिका बैठकले चौकुने गाउँपालिका-१ को कार्यालय धनरासबाट साता सार्ने निर्णय गर्यो।

वडाभित्रका १८ मध्ये १७ गाउँले त्यसको विरोध गरेका छन्। करिब चार सय घर धुरीमध्ये तीन सय घर धुरीले उक्त निर्णय विरुद्ध हस्ताक्षर अभियान नै चलाएका छन्।

पाल्पाघाट, देवल, धामीसेन, तालागाउँ, जारिमे, सिमली, काप्रीकाँडा, पग, गैलु, चाहाबोट, केलाबोट, सोता, तोलीसेन, नेटेकाँडा, बडासेन, पोखरे, धनरास र साताको केन्द्र धनरासमा पर्छ।

तर, यी १७ गाउँलाई बेवास्ता गर्दै वडाध्यक्षले मनोमानी रूपमा वडा कार्यालय सातामा सारेको पाल्पाघाटका स्थानीय पदम थापाको आरोप छ। अहिलेको वडा कार्यालय जान १७ गाउँबाट दोब्बर समय लाग्ने उनको भनाइ छ।

‘पाल्पाघाटबाट धनरास जान करिब १० किलोमिटर थियो। तर, अहिले साता सार्दा २५ किलोमिटर टाढा भयो,’ थापाले भने, ‘यो त सरासर हामीलाई दुःखै दिएको त हो नि! यो निर्णयलाई पालिकाले सच्याओस्।’

सारास्थित अहिले सारिएको वडा कार्यालय

वडा कार्यालय सारेपछि आफूहरूलाई झन् सास्ती भएको तालागाउँका स्थानीय प्रेम साउँद बताउँछन्।

‘संघीयता कसका लागि? सबैको केन्द्र परेको स्थानलाई मनोमानी ढङ्गले वडाध्यक्ष र पालिकाले निर्णय गरेर सार्न पाइन्छ?’, उनले प्रश्न गरे।

उनका अनुसार तालगाउँबाट धनरास जान करिब ५ किलोमिटर थियो भने अहिले सारेको साता पुग्न २० किलोमिटर टाढा पर्छ।

त्यस्तै नेटेकाँडाका स्थानीय खिमबहादुर साउदले वडाध्यक्ष जिरक बडुवालले आफ्नो घर पायक पार्नका लागि वडा कार्यालय सारेको आरोप लगाए।

‘९० प्रतिशत स्थानीयलाई पायक पर्ने केन्द्र धनरास हो,’ साउदले आक्रोशित हुँदै भने, ‘तर, वडाध्यक्ष र १० प्रतिशतको घरपायक पार्नलाई ९० प्रतिशतलाई बेवास्ता गर्ने? जनप्रतिनिधि नै स्वार्थमा लागेपछि कसरी नागरिकले सुविधा पाउँछ?’

स्थानीय मात्र होइन, वडा कार्यालय सारिएकोमा स्वयं वडा सदस्यहरू पनि सन्तुष्ट छैनन्।

१८ वटै गाउँको बीचमा पर्ने धनरासबाट वडा कार्यालय सातामा सार्ने निर्णय जनभावना विपरीत भएको वडा सदस्य चेतराज गौतमले बताए।

‘विगत सात वर्षदेखि नियमित रूपमा सेवा दिइरहेको ठाउँबाट एकाएक कार्यालय अन्त सार्दा नागरिकलाई सेवा लिन समस्या भएको छ,’ उनले भने, ‘तालगाउँ, पाल्पाघाट, नेटेकाँडा, देवल र धामिसेन जस्ता गाउँका मान्छेले सामान्य सिफरिस लिन पनि एक दिन बास बस्नुपर्ने भयो।’

गौतमसँगै अमृता साउद, खिमसरा विक लगायतका वडा सदस्यहरूले समेत पालिकाको निर्णयको विरोध गरेका छन्।

वडा सदस्यहरूले निर्णयको विरोध गरिरहँदा समेत चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले भने वडाकै प्रस्ताव अनुसार कार्यालय धनरासबाट साता सारिएको दाबी गरे।

उनले सबैलाई पायक पर्ने स्थान धनरास नै भएको स्वीकारेनन् मात्र हावाहुरीले भवन नै हावाहुरीले उडाको भन्दै झुट समेत बोले।

‘वडाको प्रस्तावमा नै वडा कार्यालय साता सार्ने निर्णय कार्यपालिकाले गरेको हो,’ अध्यक्ष विकले भने, ‘सबैलाई पायक पर्ने स्थान भनेको त धनरास नै हो। साता अस्थायी रूपमा मात्रै हो। धनरासमा भएको भवन पनि हावाहुरीले उडाएपछि कार्यालय सञ्चालनका लागि साता ल्याइएको हो।’

धनरासमा वडा कार्यालय सञ्चालन गर्न सकिने महिला सञ्जालको भवन खाली छ। त्यस स्थानबाट कार्यालय सञ्चालन गर्न सकिने विकल्प हुँदा हुँदै वडाध्यक्ष र पालिका अध्यक्षले सर्वसाधारणलाई सास्ती दिने बाटो रोजेका हुन्।

धनरासमा अवस्थित महिला सञ्जालको भवन

जग्गाको समस्या र ठेकेदार कम्पनीले वडा कार्यालय निर्माणको काम समयमा नसक्दा अस्थायी रूपमा वडा कार्यालय सार्नुपरेको अध्यक्ष विकको तर्क छ।

धनरासमा निर्माणाधीन वडा कार्यालयको भवन

तर, स्थायी वडा कार्यालय बनाउनका लागि आफूले जग्गा दिए पनि वडाध्यक्षले कागजी प्रक्रिया मिलाउन चासो नदिएको धनरासका जग्गदाता उपेन्द्र बहादुर बम बताउँछन्।

‘पहिलो कार्यकालको वडाअध्यक्षसँग जग्गा दिने सहमति दिएको थिएँ। त्यतिबेला कोभिडको महामारीका कारण जग्गा पास गर्न सकिएन,’ उनी भन्छन्, ‘अहिलेको वडाअध्यक्षलाई पटक-पटक जग्गा पासका लागि कागजी प्रक्रिया अगाडि बढाउँ भन्दा पनि कुनै वास्ता गर्नुभएन।’

हाल सातामा चौकुने गाउँपालिकाबाट निर्मित सभाहलबाट वडा कार्यालय सञ्चालन भइरहेको छ।

तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश
पालिकाले निर्णय गरेरै वडा कार्यालय सारेपछि यो विषय अदालतसम्मै पुगेको छ।

मंगलबार उच्च अदालत सुर्खेतले चौकुने गाउँ कार्यपालिकाका नाममा कारण देखाऊ आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालत सुर्खेतका न्यायाधीश सागर विष्टको एकल इजलासले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६ को उपदफा (७) को कानूनी व्यवस्था र सेवाग्राहीलाई पर्न सक्ने असुविधा समेतलाई दृष्टिगत गरी ०८१ साउन २७ गतेसम्म गाउँ कार्यपालिकाको ०८१ असार १० को निर्णय उक्त अवधिसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

त्यस्तै ०८१ साउन २७ गतेको पेसी तोकी दुवै पक्षलाई जानकारी दिई नियमानुसार पेश गर्न र गाउँ कार्यपालिकाबाट पारित असार १० को निर्णय, वडा नम्बर १ को सम्पूर्ण सीमाना खुल्ने साधिकार निकायबाट जारी नक्सा सहितको सक्कल फाइल इजलास समक्ष देखाउन अदालतले आदेश जारी गरेको छ।

अदालतको आदेश

सोमबार वडा नम्बर १ पोखरेका स्थानीय लछिराम आलेले पालिकाको निर्णयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दर्ता गरेका थिए।

चौकुने वडा नम्बर १ को कार्यालय, वडाअध्यक्ष, गाउँ कार्यपािलका, गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाइएको रिटमा धनरासलाई नै वडा कार्यालय कायम गरी पाऊँ भन्दै अन्तरिम आदेशसहितको उत्प्रेषण÷परमादेश माग गरिएको थियो।

मुद्दाम रिट निवेदकका तर्फबाट अधिवक्ता मातृकाप्रसाद खनालले बहस गरेका थिए।

साउन १५, २०८१ बुधबार ०८:३३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।