काठमाडौंमा ९१ जनामा डेंगी संक्रमण

काठमाडौंमा ९१ जनामा डेंगी संक्रमण

काठमाडौं : पछिल्लो एक महिनामा काठमाडौंका ९१ जनामा डेंगी संक्रमण भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार जुलाइ २९ सम्म काठमाडौंका ९१ जनामा डेंगी संक्रमण भएको हो।

महाशाखाले बुधबार जारी गरेको नियमित बुलेटिनमा जुलाइ महिनामा काठमाडौंमा ९१, कास्कीमा ४३, तनहुँमा ३८, काभ्रेपलान्चोकमा ३३, चितवनमा २७ जनामा संक्रमण पुष्टि भएको छ।

बर्खा लागेसँगै खाल्डाखुल्डीमा पानी जमेसँगै यो संख्या पनि बढेको हो। जुन महिनामा काठमाडौंमा सबैभन्दा बढी ५३ जनामा संक्रमण भएको थियो।

तर यसपटक जुलाइ महिनामा भने संक्रमितको संख्या दोब्बर पुग्न लागेको हो। जुलाइ महिनामा अझै दुई दिनको तथ्याङ्क अपडेट हुन बाँकी नै छ।

महाशाखाका अनुसार २०२४ जनवरीदेखि जुलाइसम्म काठमाडौंमा २४९, झापामा १३०, चितवनमा १०५, तनहुँमा ८७, मकवानपुरमा ७८ जनामा संक्रमण भएको छ।

पछिल्लो सात महिनाको अवधिमा ७३ जिल्ला डेंगीबाट प्रभावित भएको छ। हुम्ला, जुम्ला, डोल्पा र मुस्ताङमा सात महिनामा एक जनामा पनि संक्रमण देखिएको छैन।

साउन १५, २०८१ बुधबार ०८:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।