काठमाडौं उपत्यकाका नदीको जलसतह बढ्यो, १० बजेसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकाका नदीको जलसतह बढ्यो, १० बजेसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं : काठमाडौं उपत्यकामा गएरातिदेखि भएको भारी वर्षाका कारण उपत्यकाका नदीहरूमा जलसतह सतर्कता तह पुगेको छ।

गए राति ११ बजेदेखि भएको वर्षाका कारण बागमती र यसका सहायक नदीरहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक निकारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ। डुबान हुने स्थानमा रहनेहरू विहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ। उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ।

भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ।

काठमाडौंको धोबीखोला, चाबहित र बागमती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ।

बागमती, गण्डकी र मधेश प्रदेशका धेरै जिल्लामा मध्यमदेखि भारी वर्षा मापन भएको विभागले बताएको छ।

साउन १५, २०८१ बुधबार ०७:३५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।