आगामी निर्वाचनमा गठबन्धन नगर्ने माओवादी केन्द्रको निर्णय

आगामी निर्वाचनमा गठबन्धन नगर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ : माओवादी पार्टीको पदाधिकारी बैठकले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।

पाँच दिने अगाडिबाट बसेको पदाधिकारी बैठकले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ। गठबन्धनभित्र अरू पार्टीहरूलाई पनि सन्तुलन गर्नुपर्ने हुँदा हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन। अब जनतामा जाने निष्कर्षमा पुगेका छौ’ उनले भने।

सापकोटाका अनुसार कम्युनिस्ट पार्टीको पुनर्गठन र सामाजिक न्यायसहितको समृद्ध समाज जनताको चाहना भएको भन्दै बृहत् वामपन्थी एकीकरणको विस्तारसँगै कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने बताए।

‘हामीले कम्युनिस्ट पार्टीको पुन गठनको लागि निरन्तर प्रयास गरिहनु पर्छ र हाम्रो बैठकको निचोड पनि बृहत् वामपन्थी एकीकरण त विस्तार गर्दै अहिले जुन चार वटा पार्टीको संयुक्त मोर्चा छ, त्यसलाई विस्तार गरेर लैजान्छौ नै यसको साथै, कम्युनिस्ट पार्टीको पुनर्गठन पनि निश्चित रूपमा हुन्छ। कम्युनिस्ट पार्टीको पुनर्गठन होस् र सामाजिक न्यायसहितको समृद्धि कायम होस् भन्ने जनता चाहन्छन्। जनताको त्यो सपना पूरा गर्नका लागि हाम्रो तर्फबाट नेतृत्वदायी भूमिका खेल्ने समझदारी भएको छ।’

उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने र सङ्ख्या कम भए पनि त्यसलाई गुणात्मक बनाउने निर्णय भएको बताए।

‘प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो सङ्ख्या कम भए पनि त्यसलाई गुणात्मक बनाउने र देश र जनताका जल्दो बल्दो समस्या र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन समृद्धिका सवालहरूलाई अझ खोज अनुसन्धानसहित गम्भीरता पूर्वक उठाउने, भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको छ । साउनको २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय पनि भएको छ’ उनले भने।

साउन १४, २०८१ मंगलबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।