धादिङमा ग्राहकलाई सडेगलेको दूषित खाना खुवाउने होटल संचालकलाई २ लाख जरिवाना

धादिङमा ग्राहकलाई सडेगलेको दूषित खाना खुवाउने होटल संचालकलाई २ लाख जरिवाना

काठमाडौं : धादिङमा ग्राहकलाई सडेगलेको दूषित खाना खुवाएको अभियोगमा न्यू रिया होटेललाई दुई लाख जरिवाना भएको छ। 

थाक्रे गाउँपालिका-८ स्थित चारकिलोमा सञ्चालित उक्त होटलले बासी र गनाइसकेको खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गराएको जिल्ला अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए। 

उनले खाना बासी, गनाएको र दूषित रहेको भन्ने गुनासो गर्दा सञ्चालकले ग्राहकलाई गालीगलौज समेत गरेको पाएको बताए।  

‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ ९ख० बमोजिम दुई लाख जरिवाना गरिएको छ। जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सकिनेछ’, उनले भने। 

आइतबार बिहान एक उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटेलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए। 

त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटेलमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। 

साउन १४, २०८१ मंगलबार १४:४३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।