राजदूत सिफारिसमाथि सत्तारुढ दलकै सांसदले उठाए प्रश्न

राजदूत सिफारिसमाथि सत्तारुढ दलकै सांसदले उठाए प्रश्न

काठमाडौं : सत्तारुढ दलकै सांसदले राजदूत नियुक्तिका लागि गरिएको सिफारिसमाथि प्रश्न उठाएका छन्।

नेपाली कांग्रेसका सांसद जीवन परियारले मंगलबारको प्रतिनिधि सभाको आकिस्मक समयमा सोमबारको मन्त्रिपरिषद्ले राजदूत नियुक्तिका लागि गरेको सिफारिसमाथि प्रश्न उठाएका हुन्।

उनले भने, ‘हिजो मात्रै नेपाल सरकारले मन्त्रिपरिषद्बाट एउटा निर्णय गरेको छ। उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन। म सरकारसँग जोडदार रुपमा प्रश्न गर्न चाहन्छु।’

संविधानको धारा २८२ मा राजदूत र विशेष प्रतिनिधि सम्बन्धी व्यवस्था छ। जसमा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्ने उल्लेख छ।

त्यसैगरी धारा २८३ मा समावेशी सिद्धान्त बमोजिम नियुक्ति गर्नु पर्ने सम्बन्धी व्यवस्था उल्लेख छ। जसमा भनिएको छ, ‘संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिनेछ।’

सोमबारको मन्त्रिपरिषद्ले १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। जसमा एक जना पनि दलित छैनन्। समावेशी सिद्धान्तलाई ध्यान नदिइएको भन्दै सांसद परियारले त्यसविरुद्ध आवाज उठाएका हुन्।

साउन १४, २०८१ मंगलबार १४:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।