देउवाकाे सिफारिसमा पार्टी महाधिवेशनमा वडामै पराजित घर्तीलाई प्रदेश प्रमुख उपहार

देउवाकाे सिफारिसमा पार्टी महाधिवेशनमा वडामै पराजित घर्तीलाई प्रदेश प्रमुख उपहार

बुटवल : नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रतिनिधि छनोटमा वडामा पराजित भएका रोल्पाका कृष्णबहादुर घर्ती मगर लुम्बिनी प्रदेश प्रमुखमा सिफारिस भएका छन्।

माओवादी केन्द्र-एमाले सत्ता सहकार्य छुटेर एमाले-नेपाली कांग्रेसको सत्ता समीकरण आएसँगै महाधिवेशन प्रतिनिधिमा वडामा पराजित भएका घर्ती प्रदेश प्रमुख बनेका हुन्।

पार्टीको संस्थापन पक्षमा रहेका घर्ती जिल्लामा बलियो बनेको इतर समूहको लडाइँमा पराजित भएका थिए। देउवालाई काँध थापेर साथ दिएका घर्तीलाई अहिले उनै देउवाले प्रदेश प्रमुखको उपहार दिएका हुन्।

घर्तीलाई सोमबार सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको हो।

रोल्पा माडी गाउँपालिका-२ घर्तीगाउँका घर्ती रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ बाट नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रतिनिधि छनौटमा पराजित भएका थिए।

२०१६ माघ १० गते जन्मिएका उनले २०३६ सालदेखि नेविसंघमा आबद्ध भएर राजनीति थाले। ०४७ सालमा जिल्ला कमिटी सदस्य भएका उनी त्यसपछि सचिव भए।

१४ वर्ष नेपाली कांग्रेसको रोल्पा जिल्ला सभापति भएर काम गरे। ०४९ सालमा जिविस सभापतिमा झग्गुप्रसाद सुवेदीसँग पराजित भएका उनी ०४९ सालमै साविक घर्तीगाउँ विकास समितिको अध्यक्ष भएका थिए।

२०४८ देखि २०७२ सम्म नेपाली कांग्रेसको महासमिति सदस्य रहे।

घर्ती प्रदेश प्रमुखमा सिफारिस भएसँगै कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले स्वच्छ छवि भएको व्यक्ति प्रदेशले अभिभावक पाएको बताए। 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा रोल्पाका पूर्व सभापति अमरसिंह पुनले कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाएर पार्टीले न्याय गरेको बताए।

तर, उनले लुम्बिनी प्रदेशमा मन्त्री छनोटदेखि प्रदेश प्रमुख नियक्तका सम्बन्धमा पार्टीले सल्लाह नगरेको गुनासो गरे।

अमरसिंह पुन र कृष्णबहादुर घर्ती नाताले मामा भान्जा तथा ससुरा ज्वाइँसमेत हुन्। तर, पार्टीभित्र भने यी दुवै अलग-अलग गुटमा छन्।

१० वर्षे सशस्त्र युद्धको रापतापमा पनि संगठनलाई बलियो बनाएको भन्दै घर्तीको प्रशंसा हुने गर्छ। हाल घर्ती जिल्ला सदरमुकाम लिवाङमा बस्दै आएका छन्।

गुम्यो माओवादीको शक्ति सञ्चय
घर्ती प्रदेश प्रमुखमा सिफारिस भएसँगै च्याखे दाउ थापेर सत्ताको वरपर रमाउन माहिर माओवादी केन्द्रले भने तीन हप्ताको अवधिमा प्रदेशका मुख्य दुई पदबाट हात धुनुपरेको छ।

नयाँ बनेको एमाले-नेपाली कांग्रेसको गठबन्धनपछि लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। उनी माओवादी निकट हुन्।

केन्द्रमा फेरिएको नयाँ गठबन्धनपछि अब शेरचनको स्थानमा रोल्पाका घर्ती आउन लागेका हुन्। जोखबहादुर महराले मुख्यमन्त्री भएको हनिमुन अवधि समेत बिताउन नपाउँदै सत्ताबाट बाहिरिनुपर्यो।

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख तीन वटै शक्तिशाली पदमा रहेको लुम्बिनीमा माओवादीबाट अब सभामुख तुलाराम घर्ती मगर मात्र शक्तिमा छन्। संघियता कार्यान्वयनपछि बनेको पहिलो प्रदेश सभाको कार्यकालयमा माओवादीकै पूर्णबहादुर घर्ती सभामुख थिए।

एउटै पार्टीका नेता तीन ठूला पदमा रहँदा शक्तिको दुरुपयोग हुने अवस्था भएपनि अहिले फेरिएपछि शक्ति सन्तुलन हुने अधिवक्ता महेन्द्र पाण्डेले बताए।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा केही महिनाबाहेक ०७४ सालयता माओवादीले लुम्बिनीमा आफ्नो शक्ति जमाएको थियो।

साउन १४, २०८१ मंगलबार १०:४६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।