फिर्ता बोलाइसकेका शर्मालाई पुन: भारतको राजदूत बनाउँदै सरकार, लोकदर्शन र चन्द्र राजदूत बन्ने देश बदलियो

फिर्ता बोलाइसकेका शर्मालाई पुन: भारतको राजदूत बनाउँदै सरकार, लोकदर्शन र चन्द्र राजदूत बन्ने देश बदलियो

काठमाडौं : एमाले-माओवादी केन्द्रको सरकारले फिर्ताको निर्णय गरेर राजदूतमा सिफारिस गरे पनि अनुमोदन नभएको ११ सहित थप सात देशको राजदूतका लागि कांग्रेस-एमाले गठबन्धन सरकारले सोमबार नाम सिफारिस गर्दा पहिला फिर्ताको सूचीमा परेका शंकर शर्मा छुटेनन्।

यसअघि कांग्रेससहित गठबन्धनमा नरहेका दलको कोटामा राजदूत भएकाहरूलाई फिर्ता गर्ने निर्णय गर्दा शर्मा फिर्ताको सूचीमा थिए। उनको ठाउँमा लोकदर्शन रेग्मी सिफारिसमा परेका थिए। रेग्मी राजदूतमा कायम छन् तर देश बदलिएर अमेरिकाका लागि सिफारिसमा परेका छन्।

भारतका लागि राजदूतमा नयाँ नामको पक्षमा थिए प्रधानमन्त्री ओली तर कांग्रेसले शर्मालाई नै दोहोर्याउने अडान लिएपछि नयाँ नाम आएन। यस अगाडिको सरकारले फिर्ता बोलाएको शंकर शर्माकै नाम सिफारिस भयो।

भारतको राजदूत फिर्ताको निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्रीको तेस्रो कार्यकाल शपथमा सहभागी हुन जाँदा आलोचना भएको थियो। अब संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि शर्मा नै नेपालको राजदूत बनेर भारत जानेछन्।

उता माओवादी केन्द्रको कोटामा चीनको राजदूत रहेका विष्णुपुकार श्रेष्ठ फिर्ता बोलाउने निर्णयमा परेका छन्। उनको स्थानका लागि कृष्णप्रसाद ओलीको नाम सिफारिस भएको छ।  

श्रेष्ठसँगै रुसका मिलन तुलाधर, अस्ट्रेलियाका कैलाशराज पोखरेल, श्रीलङ्काका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका दानबहादुर तामाङलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ। यी माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा राजदूत भएका थिए।

लोकदर्शन रेग्मीको नाम अमेरिकाको लागि सिफारिस भएको छ। अमेरिकाका लागि सिफारिसमा परेका चन्द्र घिमिरेको देश बदलिएर बेलायत भएको छ। दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे र मलेसियाका डा. नेत्र तिम्सिनाको नाम सिफारिस भएको छ।

जर्मनीमा शैल रूपाखेती, पाकिस्तानमा रिता धिताल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, स्पेनमा सनिल नेपाल, साउदी अरबमा नरेश विक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, पोर्चुगलमा प्रकाशमणि पौडेल र अस्ट्रेलियाका लागि कान्ता रिजालको नाम सिफारिस भएको छ।

प्रचण्ड सरकारले फिर्ता बोलाएकाहरू
गठबन्धन बदलिएसँगै प्रचण्ड नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूत शर्मासहित अमेरिकाका राजदूत श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका ज्योति प्याकुरेल, साउदी अरबका नवराज सुवेदी, कतारका नरेशविक्रम ढकाललाई फिर्ता बोलाएको थियो।

यसैगरि मलेसियाका डिल्लीराज पौडेल, इजरायलका कान्ता रिजाल, डेनमार्कका डा. रामस्वार्थ राय र स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता बोलाएको थियो। पोर्चुगलका लागि राजदूत नियुक्त भए पनि पद बहाली नै गर्न नपाएका सनिल नेपालको नाम पनि फिर्तामा परेको थियो।

सिफारिसमा मात्र राजदुत भए ६ जना
११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारको नेतृत्व बदलिनु अगाडि सबै देशमा राजदूत सिफारिस पनि गर्न सकेन। जम्मा आठ देशको लागि मात्र राजदूत सिफारिस भए। भारतका लागि राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको थियो। उनी पहिला बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका थिए। 

अमेरिकाका लागि पूर्व वाणिज्य सचिव तथा कोलकाताका लागि पूर्व महावाणिज्यदूत भइसकेका चन्द्रकुमार घिमिरे, बेलायतका लागि डा. विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमिल्सिना, स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानको नाम सिफारिस भएको थियो। 

कोरियाका लागि सिफारिसमा परेका प्याकुरेलले सरकारले आफूसँग सल्लाह नै नगरी राजदूत सिफारिस गरेको भन्दै सिफारिसबाट नाम फिर्ता लिन सार्वजनिक रूपमै सरकारलाई आग्रह गरेका थिए। अबुसुफ्यान आफैँ म्यानपावर व्यवसायी भएको भन्दै उनलाई साउदी अरबको राजदूतमा सिफारिस गरेकोमा सरकारको आलोचना भएको थियो।  

आफ्नो कोटामा परेको देशमा राजदूत बनाउन नाम सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी गृहकार्यमै थियो। तर रास्वपाले नाम सिफारिस गर्नु अगाडि नै सरकार नै बदलियो।

साउन १३, २०८१ सोमबार २२:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।