छिमेकीको दुई लाखको प्रलोभनमा आफ्नै कामदारले पूर्व राज्यमन्त्री रामचन्द्रको हत्या गरेको प्रहरीको दाबी

छिमेकीको दुई लाखको प्रलोभनमा आफ्नै कामदारले पूर्व राज्यमन्त्री रामचन्द्रको हत्या गरेको प्रहरीको दाबी

जनकपुरधाम : दुई लाख पाउने प्रलोभनमा घरेलु सहयोगीले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या गरेको प्रहरीको दाबी सार्वजनिक भएको छ। रायको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई पक्राउ गर्दै प्रहरीले यस्तो दाबी गरेको हो।

साउन ७ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। प्रारम्भमा घरमा आएका पाहुनाले हत्या गरेर भागेको दाबी आएको थियो।

सर्लाही प्रहरीले सोमबार रायको घरायसी सहयोगी राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय छन्। दुवै जना माथि कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पूर्व राज्यमन्त्री रायको छिमेकी वीरेन्द्रसँग जग्गा मिचेको किचलो थियो। त्यही किचलोमा उनले रायको घरमा काम गर्ने रामलाई दुई लाख रुपैयाँ पैसा दिने प्रलोभनमा पारेर हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

सोही प्रलोभनमा परेर राम उजैनले राती रामचन्द्रको हत्या गरेर बेलुका तीन जना घरमा बस्न आएको दाबी गरेका थिए। प्रारम्भमा उनकै दाबी अनुसार अनुसन्धान अगाडि बढेको थियो। तर उनले दिएको जानकारी झुटो देखिएपछि उनी नै अनुसन्धानको दायरामा तानिए। नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले नै हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो।

साउन १३, २०८१ सोमबार २०:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।