छोरीको इच्छा विपरीत विवाह गराएको कसुरमा आमालाई जेल सजाय

छोरीको इच्छा विपरीत विवाह गराएको कसुरमा आमालाई जेल सजाय

एजेन्सी : आफ्नी छोरीलाई एक पुरुषसँग विवाह गर्न बाध्य गराएको कसुरमा अस्ट्रेलियामा अदालतले आमालाई जबरजस्ती विवाह कानुन अनुसार जेल पठाएको छ। अदालतले रुकिया हैदरीलाई २६ वर्षीय मोहम्मद अलि हलिमीसँग विवाह गर्न बाध्य गराएको अभियोगमा ४० वर्षकी सकिना मुहम्मद जानलाई दोषी ठहर गरेको हो।

विवाहको छ हप्तापछि हलिमीले श्रीमतीको हत्या गरेका थिए। हत्या अभियोगमा उनी अहिले कारागारमा छन्। सोमबार अदालतले जानलाई समेत दोषी ठहर गर्दै एक वर्ष कैदको सजाय सुनायो। उनलाई छोरीलाई विवाह गर्न दिएको दबाबमा दोषी ठहर गरेको हो। उनले एक वर्ष जेलमा र दुई वर्ष सामुदायिक सेवामा काम गर्नुपर्ने छ।

अस्ट्रेलियामा जबरजस्ती विवाह सम्बन्धी कानुन २०१३ बाट कार्यान्वयनमा आएको थियो। यो आरोप पुष्टि भएमा अधिकतम सात वर्षको कैद सजाय हुनसक्छ। केही मुद्दाहरू विचाराधीन छन्। जान यो अपराधका लागि सजाय पाउने पहिलो व्यक्ति हुन्।

उनी अफगान शरणार्थी हुन्। तालिबानको उत्पीडनपछि उनी भागेर २०१३ मा आफ्ना पाँच बच्चाहरूसँगै क्षेत्रीय भिक्टोरियामा बसाइँ सरेकी थिइन्।

अदालतमा सुनुवाइकाक्रममा हैदरीलाई पहिलो पटक १५ वर्षको उमेरमा अनौपचारिक धार्मिक विवाहमा बाध्य गराइएको खुल्यो। त्यो विवाह दुई वर्षपछि अन्त्य भयो। उनी २७ वा २८ वर्षको नहुँदासम्म फेरि विवाह गर्न चाहन्थिन्।

उनी पढ्न र काम गर्न इच्छुक भए पनि उनको आमाले जवर्जस्ती विवाह गरिदिइन्। छोरीको चाहनाको बेवास्ता गरेर आमाको रूपमा शक्तिको दुरुपयोग गरेर विवाह गर्न बाध्य बनाएको अदालतको ठहर छ।

साउन १३, २०८१ सोमबार १९:२०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।