कर्मचारीले अर्थमन्त्रीलाई सुनाए राजस्व संकलनका चार बाधा

कर्मचारीले अर्थमन्त्रीलाई सुनाए राजस्व संकलनका चार बाधा

काठमाडौँ : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पौडेलले संसद्ले अनुमोदन गरेको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको बताए।

बैठकमा आयातमा राजस्वको बढी निर्भरता हुनु, औद्योगिक, निर्माण र व्यापारमा देखिएको सङ्कुचन राजस्वमा पर्नु, मागमा कमी आउनु, केही नीतिगत परिवर्तनको प्रभाव र सरकारले उच्च लगानी गरेका क्षेत्रबाट राजस्व परिचालन हुन नसक्नुलाई राजश्व कम हुनुको कारणका रूपमा प्रस्तुत गरिएको थियो।

आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १० खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ सङ्कलन भएको थियो। 

समीक्षा बैठकमा मन्त्री पौडेलले भने ‘राजस्व परिचालनका हिसाबले सङ्क्रमण अवस्थामा छौँ । चलन चल्तीका हिसाबले अघि बढ्दा लक्ष्य प्राप्त गर्न सकिँदैन। चलनचल्तीको अभ्यासबाट माथि उठौँ। कमीकमजोरीको स्वमूल्याङ्कन गरौँ।  चुहावटलाई नियन्त्रण गरौँ। राजस्व परिचालनमा कमजोरी हुन नदिऔँ ।’

सरकारले आर्थिक वर्ष २०८१।८२ मा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको छ।

उद्योगी व्यवसायी र करदातालाई मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले आफ्नो कमजोरीसँग डराउने तर कर प्रशासनसँग नडराउने गरी सबै करदातालाई बुझाउन जरुरी रहेको बताए।

उनले कर तिर्न उत्प्रेरित हुने वातावरण तयार पारेर अघि बढ्न पनि कर्मचारीहरूलाई निर्देशन दिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले राजस्व सङ्कलन कसरी गर्ने भनेर स्पष्ट योजना बनाएर अघि बढ्न सुझाव दिए।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले संरचना र स्रोतहरू बदलिएको राजस्व परिचालनलाई प्रभावकारी बनाउन नीतिगत परिवर्तनको आवश्यकता औँल्याए।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका गतिविधि सेवातिर अघि बढेकाले राजस्व सङ्कलनमा त्यस क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताएका थिए।

राजस्व सचिव डा. रामप्रसाद आचार्यले करदातालाई मैत्रीपूर्ण व्यवहार गर्दै आवश्यक सहजीकरण गरेर अघि बढ्नु पर्ने बताए।

 

साउन १३, २०८१ सोमबार १८:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।