नेप्सेको उछाल दोस्रो दिनमै रोकियो, परिसूचक २०.६३ अङ्कले घट्यो

नेप्सेको उछाल दोस्रो दिनमै रोकियो, परिसूचक २०.६३ अङ्कले घट्यो

काठमाडौँ : मौद्रिक नीति आएपछि एकै दिन दुई पटक सकारात्मक सर्किट ब्रेक लागेको सेयर बजार दोस्रो दिनमै करेक्सनतिर लाग्दै परिसूचक २०.६३ अङ्कले घट्यो। सोमबार नेप्से परिसूचक २ हजार ६ सय ६० अंकमा झरेको थियो।

सोमबारको बजार तीन पटकसम्म २७ सय पार गरेको थियो। तर अन्तमा बजार घटेर बन्द भयो। कारोबारको उतारचढावका क्रममा नेप्से दुई पटक २७ सय अङ्क पार गरेको थियो। आइतबार वाणिज्य बैङ्कहरूले नेप्सेमा उछाल ल्याएका थिए। तर सोमबार कुनै एक उपसमूहको वर्चस्व रहेन।

सोमबार बजार घटे पनि कारोबार रकम भने १९ अर्ब ६० करोड रुपैयाँ पुग्यो। सोमबार ७० कम्पनीको मूल्य बढ्दा १६८ कम्पनीको घट्यो। ४ वटा कम्पनीको मूल्य स्थिर रह्यो।

उप समूहमध्ये फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अङ्कले बढेका थिए। तर यतीले नेप्सेमा उछाल ल्याउन सकेनन्। बैङ्किङ ०.६, विकास बैङ्क १४२, होटेल तथा पर्यटन १९, जीवन बिमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बिमा १४०, अन्य ०.५६ र व्यापार १७६ अङ्कले घटेका थिए।

सोमबार नेपाल फाइनान्सको ९.७, मन्दाकिनी हाइड्रोपावरको ८.५, वाराही हाइड्रोपावरको ६.८, जानाकी फाइनान्सको ६.८ तथा गणपति लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो। आरम्भ चौतारी लघुवित्तको मूल्य ८.३, बोटलर्स नेपाल बालाजुको ७.९, अभियान लघुवित्तको ६.८, गुराँस लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो।

साउन १४, २०८१ सोमबार १५:३५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।