उड्डयन प्राधिकरणका महानिर्देशकलाई निलम्बन गर्न कांग्रेस सांसद उदय शमशेरको माग

उड्डयन प्राधिकरणका महानिर्देशकलाई निलम्बन गर्न कांग्रेस सांसद उदय शमशेरको माग

काठमाडौँ : नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अनुसन्धान नसकिएसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गर्न माग गरेका छन्।

उनको कार्यकालमा सात वटा विमान दुर्घटना भइसकेको तर उनको भूमिकाबारे कहिल्यै अनुसन्धान हुने नगरेको भन्दै उनलाई अहिले जारी अनुसन्धानको अवधिभर निलम्बन भए पनि गर्न सरकारसँग माग गरे।

‘यस्तो घटनामा जिम्मेवारी लिँदै सम्बन्धित व्यक्तिले नै राजीनामा दिनुपर्ने हो। तर राजीनामा नदिए कमसेकम अनुसन्धानको अवधिभर निलम्बन गर्नुपर्ने हैन? प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने।

नेपालको नागरिक उड्डयन क्षेत्रमा सर्भिस प्रोभाइडर र रेगुलेटर दुवै एकै निकायको जिम्मेवारी भएकाले हवाई सुरक्षामा गम्भीर भएर काम गर्न नसकेको भन्दै उनले यी दुवै जिम्मेवारी अलग गर्नुपर्ने माग गरेका थिए।

उनले क्यानको सबै ठिक रहेको तर मुटु ठिक नभएको भन्दै नेतृत्वको भूमिकाबारे समेत अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए। प्राधिकरणको पहिलो प्राथमिकता हवाई सुरक्षा हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

साउन १३, २०८१ सोमबार १४:०९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।