‘यौन शोषणको मुद्दा मिलाउन १ करोड २५ लाख तिर्ने प्रधान कसरी उच्च नैतिक चरित्रको हुन्छन्?’

‘यौन शोषणको मुद्दा मिलाउन १ करोड २५ लाख तिर्ने प्रधान कसरी उच्च नैतिक चरित्रको हुन्छन्?’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले यौन शोषणका आरोपित र मिलापत्र गरेर रकम बुझाएका कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि अनुमोदन नगर्न अनुरोध गरेकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले संसदीय सुनुवाइ समितिले यौन शोषणका आरोपित प्रधानको सिफारिसलाई अनुमोदन गरे त्यो ५१ प्रतिशत महिलाको अपमान हुने समेत बताइन्।

‘एक महिलामाथि लामो समयसम्म यौन शोषण गरेको आरोप प्रधानमाथि छ। ती महिलाले संसदीय सुनुवाइ समितिमा उजुरी दिएकी छन्,’ उनले भनिन्, ‘प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुन्छ।’

संविधानको धारा २४५ को उपधारा ६ मा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त हुन उच्च नैतिक चरित्र भएको हुनुपर्ने उल्लेख भएको बताउँदै उनले यौन शोषणको आरोप लागेर त्यसलाई मिलाउनका लागि १ करोड २५ लाख तिर्ने कसरी उच्च नैतिक चरित्रको हुन्छ भन्दै प्रश्न गरिन्।

साथै सांसद कार्कीले प्रधानलाई निर्वाचन आयुक्तका लागि अनुपयुक्त र नालायक ठहर गर्नका लागि संसदीय सुनुवाइ समितिका सभापति र त्यहाँ सहभागी सांसदहरू समक्ष आग्रह गरेकी छन्।

साउन १३, २०८१ सोमबार १३:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।