बुटवलमा सुत्केरी सिजरिनको भयानक तथ्याङ्क, भर्ना भएकामध्ये ५८ प्रतिशतसम्म महिलाको अप्रेशन

बुटवलमा सुत्केरी सिजरिनको भयानक तथ्याङ्क, भर्ना भएकामध्ये ५८ प्रतिशतसम्म महिलाको अप्रेशन

बुटवल : विश्व स्वास्थ्य संगठनले सिजरिन १० देखि १५ प्रतिशतभन्दा माथि पुग्न नहुने सिफारिस गरेको छ। तर, रुपन्देहीका चार वटा स्वास्थ्य संस्था लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल मेडिकल कलेज, आम्दा अस्पताल र भीम अस्पतालको तथ्याङ्क हेर्दा तीन गुणा बढी सिजरिन भएको देखियो।

यो वर्ष यी चार अस्पतालमा सुत्केरी हुन भर्ना भएकामध्ये ४३ प्रतिशतले सिजरिन विधिबाट बच्चा जन्माए। यी चार अस्पतालमा आर्थिक वर्ष ०८०/०८१ मा सुत्केरी हुन आएका कुल २० हजार ४ सय ३८ महिलामध्ये आठ हजार ९ सय ६२ जना महिलाको सिजरिन गरियो।

यो विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा अत्यधिक संख्या हो। यी चार वटै अस्पतालको पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्दा सिजरिन गराउनेको संख्या बढ्दै गएको देखिन्छ।

लुम्बिनीको अवस्था
सबैभन्दा बढी सुत्केरी गराउने लुम्बिनी प्रादेशिक अस्पतालको पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्ने हो भने सिजरिन गराउनेहरू क्रमशः बढेको देखिन्छ।

आर्थिक वर्ष ०७८/०७९ देखि आर्थिक वर्ष ०८०/८१ सम्म अस्पतालमा सुत्केरीका लागि भर्ना भएका कुल ३७ हजार ३ सय महिला मध्ये १३ हजार ३९५ जनाको सिजरिनबाट बच्च निकालिएको छ। जुन कुल भर्ना भएका सुत्केरी महिलाको ३५.९२ प्रतिशत हो।

अस्पतालबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८/०७९ मा कुल सुत्केरी हुन भर्ना भएका १२ हजार ९३० महिला मध्ये ३३ दशमलव  ७८ प्रतिशत अर्थात् ४ हजार ३६६ जना महिलाको सिजरिनबाट बच्चा निकालिएको छ। 

त्यस्तै ०७९/०८० मा १२ हजार २७५ सुत्केरी हुन भर्ना भएका मध्ये ३६ दशमलव  ५२ अर्थात् ४ हजार ४८२ जना र आर्थिक वर्ष ०८०/०८१ म कुल १२ हजार ९५ जना सुत्केरी हुन भर्ना भएका मध्ये ३७ दशमलव  ६० प्रतिशत अर्थात् ४ हजार ५४७ जनाको सिजरिन गरिएको छ।

आम्दामा सबैभन्दा बढी
बुटवलको आम्दा अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशत भन्दा बढीले सिजरिनबाट बच्चा जन्माएको तथ्याङ्क छ। अस्पतालले दिएको तथ्याङ्क अनुसार पछिल्ला तीन आर्थिक वर्षमा आम्दा अस्पतालमा भर्ना हुन आएका पाँच हजार ४२० सुत्केरीमध्ये ३ हजार ६३ जना महिलाको सिजरिनको माध्यमबाट बच्चा निकालिएको छ। जुन ५६ दशमलव  ५२ प्रतिशत हो।

आर्थिक वर्ष ०७८/०७९ मा कुल सुत्केरी हुन भर्ना भएका २ हजार ३२० महिला मध्ये ५३ दशमलव  ५० अर्थात् १ हजार २४१ जना, ०७९/०८० मा एक हजार ८ सय सुत्केरीका लागि भर्ना हुन आएको मध्ये ६८ दशमलव  ७३ प्रतिशत अर्थात् १ हजार ५७ जना र ०८०/०८१ मा एक हजार ३ सय जना सुत्केरी हुन भर्ना भएका मध्ये ७६५ जना अर्थात् ५८ प्रतिशतको सिजरिन गरिएको छ।

स्वास्थ्य चौकीहरूमा हुन नसकेका सुत्केरी अन्तिम समयमा अस्पतालमा आउने भएकाले आम्दा अस्पतालमा सामान्य भन्दा सिजरिनको संख्या बढी देखिएको अस्पतालका निर्देशक डा. विनोद पराजुलीको तर्क छ।

युसिभर्सलमा पनि आम्दाकै हाल
भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पनि सिजरिन गरेर बच्चा जन्माउनेकै संख्या बढी छ। पछिल्ला तीन वर्षमा अस्पतालमा ५२ दशमलव  ४ प्रतिशत महिलाहरूको सिजरिनबाट बच्चा निकालिएको छ।

आर्थिक वर्ष ०७८/०७९ देखि आर्थिक वर्ष ०८०/८१ सम्म यस अस्पतालमा सुत्केरी हुन आएका कुल १२ हजार ९३५ महिला मध्ये ६ हजार ७७७ महिलाको सिजरिनबाट बच्चा निकालिएको छ। जुन ५२ दशमलव  ४ प्रतिशत हो

आर्थिक वर्ष ०७८/०७९ मा सुत्केरी हुन भर्ना भएका ३ हजार ९१२ मध्ये ५० दशमलव  २९ प्रतिशत अर्थात् एक हजार ९६७ जना, ०७९/०८० मा ४ हजार ९६५ सुत्केरीका लागि भर्ना भएका मध्ये ५१ दशमलव  २८ अर्थात दुई हजार ५४६ जनाको सिजरिन गरिएको थियो।

त्यस्तै ०८०/०८१ म सुत्केरी हुन आएका ४ हजार ५८ मध्ये ५५.७९ प्रतिशत अर्थात् २ हजार २६४ जना महिलाको अपरेसन गरेर बच्चा निकालिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ।

भीम अस्पतालमा तैबिसेक
आम्दा र युनिभर्सल अस्पतालको तुलनामा भीम अस्पतालमा सिजरिन गरेर बच्चा जन्माउनको संख्या केही कम पाइएको छ। पछिल्लो तीन वर्षमा भीम अस्पतालमा सुत्केरी हुन आएका कुल महिलाको ४३ प्रतिशतले मात्र सिजरिन विधिबाट बच्चा जन्माएका छन्।

आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्म अस्पतालमा आएका कुल ८ हजार १८१ महिला मध्ये ३ हजार ५२३ जनाले सिजरिन गरे।

अस्पतालकी मेडिकल सुपरिटेण्डन डा. सकुन्तला गुप्ताका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा २ हजार ८०९ सुत्केरी हुन आएका महिला मध्ये ४० दशमलव ८ अर्थात १ हजार १२६ जनाको सी सेक्सन भयो।

०७९/०८० मा २ हजार ३८७ सुत्केरी हुन आएका महिला मध्ये ४२ प्रतिशत अर्थात १ हजार ११ जनाले अपरेशन गरि बच्चा जन्माए भने ०८०/०८१ मा दुई हजार ९८५ मध्ये ४६.४४ अर्थात एक हजार ३८६ महिलाको सी सेक्सनबाट बच्चा निकालियो।

सिजरिन : रहर कि बाध्यता ?
बच्चा र आमा दुवैको स्वास्थ्यमा असर पुग्ने देखिएमा अप्रेशन गर्ने गरिन्छ। यद्यपि पछिल्लो समय भने कम्प्लिकेशन नदेखिए पनि सी सेक्सन गराउने क्रम बढेको देखियो। 

प्रसव पीडाबाट मुक्ति पाउन र केहीले सौन्दर्यका लागि समेत सी सेक्सनबाट बच्चा निकाल्ने गरेको चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार निजी अस्पतालले सामान्य अवस्थामा पनि सी सेक्सन गराउने गर्छन्।

प्रसुति रोग विशेषज्ञ डा. अनुपा थापाका अनुसार सामान्य प्रकृतिका सुत्केरी स्वाथ्यचौकीमा हुने भएकाले बुटवलका अस्पतालहरूमा सी सेक्सन गराउनेको संख्या बढेको हुनसक्छ।

‘सी सेक्सन गर्ने भनेपछि धेरै जना बुटवलमै गर्ने भनेर आउनुहुन्छ। त्यति मात्र होइन यहाँका अस्पतालमा सिजरिनका लागि रिफर नै गरिने भएकाले पनि सिजरिन गर्ने सुत्केरी महिलाहरूको संख्या बढि छ’, उनले भनिन्।

सरकारी अस्पतालमा सुत्केरी महिलाको स्वेच्छाले भन्दा पनि स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर सी सेक्सन गराइने उनको भनाइ छ।

‘निजीमा सिजरिन गर्ने भनेपछि सजिलै बिरामीले मान्ने अवस्था रहन्छ। तर, हाम्रोमा बिरामीले भने पनि जोखिमको अवस्थामा नहुँदासम्म सिजरिन गरिँदैन’, उनले भनिन्।

तोकिएको समयभन्दा दुई हप्ता पछिसम्म पनि सुत्केरी नभएमा, पाठेघरमा पानीको मात्रा कम भएमा वा अन्य कुनै जटिलता निम्तिएमा मात्र सिजसिन गर्ने गरिएको उनले बताइन्।

साउन १३, २०८१ सोमबार १३:१७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।