अमेरिका भ्रमण छोट्याएर बीचमै स्वदेश फर्किए नेतन्याहु, हिजबुल्लाहलाई ठूलो मूल्य चुकाउने चेतावनी

अमेरिका भ्रमण छोट्याएर बीचमै स्वदेश फर्किए नेतन्याहु, हिजबुल्लाहलाई ठूलो मूल्य चुकाउने चेतावनी

एजेन्सी : इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्नो अमेरिका भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्।

फर्किए लगत्तै उनले आफ्नो सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।

सुरक्षा मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री र रक्षामन्त्री योभ गालान्टलाई लेबनानी चरमपन्थी संगठन हिजबुल्लाहविरुद्ध कारबाहीको अधिकार दिइएको छ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गोलान हाइट्समा हिजबुल्लाहले नै रकेट प्रहार गरेको सङ्केत भेटिएको बताएका छन्।

शनिबार गोलान हाइट्सस्थित फुटबल मैदानमा रकेट प्रहार हुँदा १२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।

आक्रमण लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए। त्यसको केही घन्टापछि इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गरेको थियो।

गत अक्टोबरमा हमासले इजरायलमा हमला गरेपछि हिजबुल्लाहसँग तनाव बढ्दै गएको छ र त्यसको जवाफमा इजरायलले गाजामा निरन्तर सैन्य कारबाही गरिरहेको छ।

इजरायल र हिजबुल्लाहबीच घोषित युद्धको खतरा लगातार बढिरहेको छ र यदि युद्ध भयो भने यो सम्पूर्ण मध्य पूर्वमा फैलिने डर छ।

साउन १३, २०८१ सोमबार ०८:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।