भारतलाई एक खेल अगावै श्रीलंकाविरुद्धको टी-२० सिरिजको उपाधि
एजेन्सी : तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा भारतीय टोलीले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले भारतलाई १६२ रनको लक्ष्य दिएको थियो। तर, भारतीय इनिङ्सको सुरुको तीन बल खेल्ने बित्तिकै पानी पर्न थालेपछि खेल रोकिएको थियो।
यसपछि डकवर्थ लुइस नियम (डीएलएस) मार्फत भारतलाई जितका लागि आठ ओभरमा ७८ रनको लक्ष्य दिइयो। जुन भारतले तीन विकेटको क्षतिमा पूरा गर्यो।
भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए। कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रनको इनिङ खेले।
श्रीलंकाका महीष थिसान्का, वानिन्दु हषरङ्गा र मथीषा पथिरानाले समान एक-एक विकेट लिए।
श्रीलंकाका लागि कुसल मेन्डिसले सर्वाधिक ५३ रनको इनिङ खेले। पाथुम निसान्काले ३२ र कमिन्दु मेन्डिसले २६ रन बनाए।
भारतका लागि रवि बिश्नोईले ३ विकेट लिए।
भारतीय टोली अहिले श्रीलंकाको भ्रमणमा छ, जहाँ उसले तीन टी–२० र तीन एकदिवसीय खेलको शृङ्खला खेल्ने छ। पहिलो टी–२० खेलमा पनि भारतले श्रीलंकालाई ४३ रनले पराजित गरेको थियो।
दोस्रो जितसँगै भारतले तीन खेलको टी-२० सिरिज एक खेल अगावै जितेको छ।
साउन १३, २०८१ सोमबार ०७:४४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।