प्रतिनिधि सभाको बैठक बस्दै, दुई मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधि सभाको बैठक बस्दै, दुई मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ।

यस्तै सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सांसदको नाम प्रस्ताव गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

उनका अनुसार आजकै बैठकमा सभामुख घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत आजकै बैठकमा छ।

त्यसैगरी सांसद डा. तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्घट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव समेत प्रस्तुत गर्नेछिन्।

उक्त प्रस्तावमा सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा. चन्दा कार्की (भण्डारी), विन्दवासिनी कांसकार र निशा डाँगीले समर्थन गर्नेछन्।

साउन १३, २०८१ सोमबार ०७:२९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।