काँडाको बाटो हिँडेका गायक प्रताप दासको प्रिय दश सुरमा उल्सन र सन्ध्याको ‘सुस्त’देखि सुजन र विद्याको ‘बाफ’सम्म

काँडाको बाटो हिँडेका गायक प्रताप दासको प्रिय दश सुरमा उल्सन र सन्ध्याको ‘सुस्त’देखि सुजन र विद्याको ‘बाफ’सम्म

काठमाडौँ : युवापुस्ताले रुचाएका गायक प्रताप दास पछिल्लो समय फिल्मी गीतहरूमा निकै व्यस्त छन्। फिल्मी अनि आधुनिक गायनमा आउनु अघि उनी नाइट बारमा गीत गाउँथे। बारमा आइपुग्ने दर्जनौँ फिल्म मेकरहरुलाई गीत सुनाउँदा राम्रो छ भन्ने प्रतिक्रिया पाए पनि ब्रेक भने पाएनन्।

फिल्म ‘रोज’मा ‘फूल हैन काँडा,काँडै बाटो हिँडौला’ ले उनको गायन दायरा केही फराकिलो बनाउन सहयोग गर्यो। टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’सिजन तीनमा सेकेन्ड रनर अप भएपछि फिल्ममेकरदेखि अरू सर्जकले समेत पत्याउन थाले उनलाई। दर्जनौँ हिट गीत दिएका गायक दासले आफूले गाएका पाँच गीत र अरूका गाएका पाँच गीत प्रिय लाग्नुको कारण उकेरालाई खुलाए।

आफ्ना पाँच

फूल हैन काँडा, काँडै बाटो हिँडौला’

फिल्म रोजका लागि यो गीत मैले गाएपछि धेरै काम गर्ने अवसर पाए। हाम्रो एउटा टिम थियो, सङ्गीतकार एलिस कार्की, शब्द रचना राजेश कुमार श्रेष्ठको। उहाँहरूको यो गीतमा मैले पहिलो पटक प्रविशा अधिकारी दिदीसँग गीत गाउने मौका पाएको थिए। यो गीतबाट एउटा राम्रो टिम पनि बन्यो। यो गीतपछि हामीले थुप्रै गीतहरू सहकार्य गर्ने अवसर पायौ।

त्यसैले पनि यो गीत मेरो लागि प्रिय छ। यो गीत गाइसकेपछि अडियन्सले पनि एकदमै रुचाइदिनुभयो। 

'सत्य भन्छु'

यो गीत पनि फिल्मकै गीत हो। अनमोल केसी र सुहाना अभिनीत फिल्म ‘ ए मेरो हजुर ३’मा राखिएको छ। यो गीतमा रबी मल्ल दाइको शब्द रहेको छ भने सङ्गीत कल्याङ सिंहले गर्नु भएको छ। तपाईँले हेर्नुभयो भने अनमोलले कुनै गजलबारमा गीत गाइरहेको देख्न पाउनुहुनेछ।

यो फिल्मको स्टोरीले नै मेरो करिअरको बारेमा बोल्छ। फिल्ममा अनमोलले बारमा गीत गाइरहँदा उसको प्रेमिकाले मोटिभेट गरेको देखाइएको छ। तर मेरोमा प्रेमिका चाही थिइनन्। तर म रियल लाइफमा पनि बारमा गीत गाउने गर्थे।

यो गीत सुन्दा र हेर्दा म आफूले बारमा गाइरहेको कुरालाई सम्झन्छु। मेरो करिअरको समयलाई सम्झाउने गीत भन्दा फरक पर्दैन।

'फोटो फिरेममा'

शिशिर भण्डारी दाइको शब्द सङ्गीतमा बनेको गीत हो यो। यो गीतमा फिमेल भोकल रचना रिमालले गाउनु भएको छ भने मेल भोकलमा मैले गाएको छु। मेल भर्सनमा शिशिर दाइले भिडियो पनि निर्माण गर्नुभएको छ।

यो गीत मलाई मन पर्नुमा धेरैको मनमनमा बस्न सफल भएको छ भने स्टेजमा गाउँदा पनि एकदमै चित्त बुझेको जस्तो लाग्छ। मेरो मात्र होइन,अडियन्सको हुटिङ आउँदा मैले गीत गाएर उहाँहरूको पनि चित्त बुझाउन सफल भएको रैछु भन्ने लाग्छ।

'चाहन्छु'

यो मेरो गायनमा सङ्घर्षको समयको गीत हो। सरोज पोखरेल दाइको सङ्गीत,मानस र मनीषाको शब्द रहेको गीत हो यो। यो गीत रेकर्ड गर्दा धेरै दुखमा थिए। आर्थिक अभावको समयमा बारमा गीत गाएर ५ हजार, ४ हजार रुपैयाँ जोडी-जोडी ३०-३५ हजारमा रेकर्ड गरिएको गीत थियो। त्यतिबेला यो गीतलाई फिल्ममा राख्न कोसिस गरेका थियौँ। ठुला ठुला फिल्ममेकरहरुलाई,प्रोड्युसरहरुलाई यो गीत तपाईँको फिल्ममा राखिदिनु भनेर अनुरोध गरेका थियौँ।

फिल्ममा राखेपछि हाम्रो गीत चल्छ कि भन्ने लागेको थियो। त्यतिबेला धेरै फिल्ममेकरलाई सुनाउँदा राम्रो छ त भन्नुभयो तर फिल्ममा राख्नुभएन। यो गीत मैले त्यतिकै राखिरहेको थिए। पछि लकडाउनको समयमा गीत सार्वजनिक गर्यो। अडियोबाट राम्रो प्रतिक्रिया आएपछि यसैको सिक्वेल ६ सम्म आउन लागेको छ। ५ सम्म त आइसक्यो। त्यो दुखमा रेकर्ड गरेको गीत भएर पनि होला मलाई यो गीत अति नै प्रिय लाग्छ।

'मोटर साइकलमा'

मैले आशुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको थुप्रै फिल्मको ब्याकग्राउण्डमा रहेर काम गरिसकेको थिए। ब्याकग्राउण्ड आर्टिस्ट,ब्याक भोकल,आलापहरू त्यस्तै त्यस्तै टाइपको थुप्रै काम मैले गरेको छु। पछि ‘प्रेम गीत २’मा आइपुग्दा चाहिँ मैले यो ‘मोटर साइकलमा’भन्ने गीत गाउने अवसर पाए।

अब भनौँ न यो गीत निस्किएको ७,८ वर्ष भइसकेको छ। र अहिले पनि स्टेज चढ्दा मैले यो गीत नगाई सुख पाउँदिन। यो गीत मैले स्टेजमा गाउँदादेखि २,४ पटक वान्स मोर आएपछि पुन गाउनुपर्ने अवस्था समेत सिर्जना भएको थियो र अहिले पनि छ। यो गीतलाई एलिस कार्कीकै सङ्गीत,राजकुमार श्रेष्ठ कै शब्द रचना रहेको छ। यो गीतमा इन्दिरा जोशी र मेरो आवाज रहेको छ। उहाँहरूसँग म सुरुवातको दिनबाट अहिलेसम्म पनि सहकार्य गरिरहेको छु।

न्यको पाँच

शिव परियारको जितेर पनि हारमा छु

यो गीत शिव परियार दाइले गाउनुभएको हो। यो गीतको शब्द सङ्गीत र स्वर एकदमै राम्रो लाग्छ। मनलाई छुन्छ। यो गीतलाई मैले यति धेरै पटक सुनिसकेकी गन्नै सकिँदैन। यो गीतको सङ्गीतकार पनि एकदमै राम्रो हुनुहुन्छ हरि लम्साल। शिव र हरि सरको हातमा परेको यो गीत नराम्रो हुने कुरै भएन। गीतलाई सुरेश वाग्ले दाइले लेख्नुभएको हो।

गीतको भाव सुन्ने जो कोहीले दोहोर्याएर नै यो सुन्छन् होला भन्ने लाग्छ। 

उल्सन र सन्ध्याको सुस्त

उल्सन श्रेष्ठ र सन्ध्या जोशीले गाउनुभएको यो गीत अहिले धेरै सुन्छु म। उहाँहरू मसँगै आइडलमा हुनुहुन्थ्यो। पछि उहाँहरूको विवाह नै भयो। उहाँहरूको अफेयर्स चलेको कुरा थाहा पाएको थिए। यो गीत सुन्दाखेरि त्यति बेलाको झल्को आउँछ। गीतको शब्द सङ्गीत पनि सन्ध्या दिदी कै रहेको छ।

सुजन र विद्याको बाफ

कतिपय गीतहरू एक छिन सुनिन्छ,अनि हटाइन्छ। तर यो गीत मैले डाउनलोड नै गरेर राखेको छु। यो मलाई असाध्यै मन परेको गीत हो। यो सुजन चापागाईँ र विद्या तिवारीले गाउनु भएको गीत हो यो। गीतलाई सुजनले चापागाईँले नै सङ्गीत भर्नु भएको छ। सुनिरहने भएर पनि यो गीत मलाई प्रिय लाग्छ।

सत्य-स्वरूपको आगोको राप जीवन

यो मैले पहिल्यै देखि सुनिरहेको गीत हो। यस गीतलाई सत्यराज आचार्य र स्वरूपराज आचार्यले गाउनुभएको छ। सङ्गीत भक्तराज आचार्यले गर्नुभएको हो। म उहाँहरूको फ्यान पनि हो। उहाँहरूसँग एक दुई पटक भेट्ने अवसर पनि पाएको छु। उहाँहरूसँगको भेटमा उहाँहरूको अनुभव,भोगाइका बारेमा सुन्ने मौका पाए। त्यसपछि झनै यो गीत मन पर्न थाल्यो। त्यस कारण यो गीत मलाई प्रिय लाग्छ।

शिव लामिछानेको किन दुख्छ

मेरो आइडल हुनुहुन्छ, शिवाज ब्यान्डका शिव लामिछाने। मैले उहाँको गीत नेपाल आइडलमा पनि गाउने अवसर पाएको थिए। यो गीत सुन्दाको क्षण म आफूलाई नेपाल आइडलमा भएको आभास पाउँछु। सङ्गीतको हिसाबले यो गीत गाह्रो छ।

साउन १३, २०८१ आइतबार १८:३७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।