सेयर बजारमा उछाल : बैंकको सेयर भएका लगानीकर्ताले कमाए, लघुवित्तकाले गुमाए

सेयर बजारमा उछाल : बैंकको सेयर भएका लगानीकर्ताले कमाए, लघुवित्तकाले गुमाए

काठमाडौँ : मौद्रिक नीति सार्वजनिक भएपछिको सेयर बजारको पहिलो दिन बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढ्यो। आइतबार बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ९.८९ प्रतिशत बढ्यो।

आइतबार दिनभरको सेयर बजारमा दुई पटक सकारात्मक सर्किट लेभल लागेको थियो। १९ वटा वाणिज्य बैंकहरुमध्ये १८ बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढ्दा समग्र नेप्से परिसूचक ११३.४२ अंक बढेर २६८१.५६ विन्दुमा पुगेर बजार बन्द भएको थियो।

सेन्सेटिभ इन्डेक्स ५.८२ अंकले बढ्यो भने फ्लोट इन्डेक्स ८.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १०.०५ अंक बढेको थियो।

गत बिहीबार १४ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएर बजार बन्द भएको थियो। आइतबार ३ सय १८ स्टकको १ लाख ६३ हजार ८१० पटकको कारोबारमा १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भयो।

कुमारी बैंकको मात्र ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भयो। एनआईसी एसिया बैंकको करिब ३५ करोडको शेयर किनबेच भयो। हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड नाघ्यो।

आइतबार लघुवित्त उपसमूहको परिसूचक भने नकारात्मक भयो। सो उपसमूहको परिसूचक ०.१८ प्रतिशत घट्यो। आइतबार शेयर मूल्य घटेका शीर्ष १० कम्पनीमा ७ वटा त लघुवित्त कम्पनी मात्र छन्। जसमध्ये गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.३५ प्रतिशत घट्यो। सर्वाधिक सेयर बढ्ने शीर्ष १० कम्पनीमा अधिकांश वाणिज्य बैङ्कहरू रहे।

साउन १३, २०८१ आइतबार १७:२६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।