दुर्गेश थापाले पशुपति शर्मालाई गीत गाउन सिकाएपछि...

दुर्गेश थापाले पशुपति शर्मालाई गीत गाउन सिकाएपछि...

काठमाडौं : लोक तथा दोहोरी गायनमा गायक पशुपति शर्माको आफ्नै छाप छ। दुई दशक लामो सांगीतिक यात्रामा उनले गाएका अधिकांश गीतहरू चर्चा र विवादमा आइरहे।

‘मलाई अमेरिका यहि’, ‘क्याम्पस पढ्न आउनी’, ‘हामी नेपाली’, ‘लुट्न सके लुट कान्छा’ लगायत थुप्रै गीतले उनलाई दर्शक तथा स्रोतामाझ अझ बढी परिचित गरायो।

केही वर्षअघि रिलिज भएको उनको ‘हामी नेपाली’ बोलको गीतलाई लिएर दलित समुदायका कतिपय संघसंस्थाले आपत्ति जनाएका थिए। उक्त गीतमा दलित समुदायका विशेष जातलाई नामै किटेर भनिएपछि उनीहरू रिसाएका थिए।

तीन वर्षअघि रिलिज भएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतका कारण एमालेका नेता तथा कार्यकर्ता उनीसँग चिढिए। तत्कालीन केपी शर्मा ओलीको सरकार हुँदा एमाले कार्यकर्ताको चर्को दबाबपछि उक्त गीत युट्युबबाट हटाउन उनी बाध्य भए।

उनै चर्चित तथा लोकप्रिय गायक शर्मालाई युवापुस्ताका चर्चित गायक तथा मोडल दुर्गेश थापाले गीत गाउन सिकाएको चर्चा चलेको छ।

एक साताअघि थापाको लयमा बनेको गीत ‘झुम्का हरायो’मा गीत रेकर्डिङको क्रममा थापाले आफूलाई गाउने तरिका सिकाएको शर्माले आइतबार नयाँ बानेश्वरमा आयोजित एक पत्रकार सम्मेलनमा बताएका हुन्।

दुर्गेशको प्रसंशा गर्दै भने, ‘यस पटक मैले दुर्गेश थापाले बनाएको गीत गाएको छु। यहाँ यसरी गाउनुपर्छ दाई भनेर सिकाउनुभयो। केहि केहि कुरा सिक्नका लागि अभ्यास रहेछ। जिन्दगी सिक्दै–सिक्दै जाने चिज रहेछ।’

गायक शर्मामाथि आफ्ना गीत बाहेक अरुको गीतमा गाउन जान्दैन भन्ने आरोप लाग्दै आएको छ। यस पटक उनले यो आरोपलाई चिर्दै दर्जनौ गीतहरु अरुको गाउन थालेको बताए। केहि गीतहरु आउन बाँकी रहेको भन्दै पत्रकारलाई सुनाए।

उनले भने ‘केहि गीतहरु बाहेक मैले अरुको गाएको पनि थिइनँ। तर केहि कुराहरु सिकाइ पनि हुँदो रहेछ। आफ्नो सिर्जनाहरु मात्र गाइरहँदा कतिपय टेक्निकल कुराहरु आफुलाई थाहा नहुँदो रहेछ। त्यहि कुराहरु सिक्नुपर्छ भनेर यसपटक धेरै गीत गाएको छु।’

थापा विशेषगरी मोडलिङ सक्रिय भए पनि पछिल्लो समय भने गीत पनि गाउने गरेका छन्।

एक पटक ऋषि धमलाको कार्यक्रममा गएर आधुनिक गीत गाएपछि उनको गायकीलाई मानिसहरूले मजाक बनाउन थालेका छन्। उनले उक्त कार्यक्रममा नारायण गोपालको भनेर भक्तराज आचार्यको मुटु जलिरहेछ बोलको गीत गाएका थिए। 

साउन १३, २०८१ आइतबार १३:५२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।