अवकाशप्राप्त कर्मचारी रेणु श्रेष्ठको प्रसव पीडा र खुसी : कम्तीमा दुई सन्तान त हुनैपर्ने रहेछ, बच्चालाई बच्चा नै साथी चाहिन्छ

अवकाशप्राप्त कर्मचारी रेणु श्रेष्ठको प्रसव पीडा र खुसी : कम्तीमा दुई सन्तान त हुनैपर्ने रहेछ, बच्चालाई बच्चा नै साथी चाहिन्छ

रेणु श्रेष्ठ राष्ट्रिय संग्रहालयको अनुसन्धान शाखाका पूर्व कर्मचारी हुन्। उमेर हदका कारण अवकाश पाएको पनि पाँच वर्ष बितिसक्यो। यसबीचमा सबैभन्दा धेरै समय आफू अनि परिवारलाई दिइन्। श्रीमान् पनि कृषि मन्त्रालयबाट अवकाश भएर बसेको कारण दुवै श्रीमान्-श्रीमती अहिले परिवारका साथ समय बिताइरहेका छन्।

उनीहरूले धेरै ठाउँ घुमिसके भने अझै कतिपय ठाउँ घुम्ने तयारीमै छन्। खरिदारदेखि सुब्बा हुँदासम्म उनले तीस वर्ष अनुसन्धान शाखामै बिताइन्। काठमाडौंकै नेवार समुदायकी भए पनि त्यहाँ गएपछि उनले अझ धेरै संस्कृतिबारे जान्ने मौका पाइन्।

देखाउनलाई राखिएको भन्दा धेरै महत्वपूर्ण मूर्ति संग्रहालयमा रहेको बताउँछिन् उनी। विदेशबाट आएको धेरै मूर्ति पनि बाहिर राख्ने स्थितिमा नभएको उनी बताउँछिन्।

संग्रहालयमा कर्मचारी अत्यन्त कम भएको खबर थाहा पाएपछि उनले त्यहाँ काम गरेकी थिइन्। सानो कच्याककुचुक परेको संग्रहालय उनले हेर्दाहेर्दै भव्य बनिसक्यो। त्यसमा उनी खुसी छन्।

यसका अलावा रेणु दुई सन्तानकी आमा पनि हुन्। अहिले त उनका नातिनातिना समेत ठूला भइसके। उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’ रेणुले आफ्नो मातृत्व अनुभव यसरी साटिन्:

०००

नरदेवीमा मेरो बाल्यकाल बित्यो। बाबा कानून मन्त्रालयमा काम गर्नुहुन्थ्यो। स्नातक पढ्दै गर्दा घरमा बिहेको कुरा चल्यो। २३ वर्षको भएको थिएँ। त्यति बेलासम्म आमाबाले खोजेको केटासँग नै बिहे गर्नुपर्छ भन्ने थियो।

वर्ष २३ भए पनि मलाई बाहिरको कामको खासै अनुभव थिएन। त्यहि समयमा विवाह भयो। श्रीमान् त्यतिबेलै सरकारी जागिरे भइसक्नुभएको थियो। उहाँको काम त्यतिबेला वीरगञ्जमा थियो। म पनि बिहेपछि उहाँसँग वीरगञ्ज नै गएँ। हामी संयुक्त परिवारमा बस्थ्यौँ। त्यसैले पनि होला, बिहेपछि कहिल्यै एक्लो महसुस गरिनँ।

बिहे भएको एक वर्षमै हाम्रो छोरी भइसकेको थियो। त्यसबेला आफैँलाई पनि केहि थाहा थिएन। रजस्वला रोकिएपछि गर्भवती भएछु भन्ने भयो। पछि त धेरै लक्षण नै देखा परिहाल्यो नि! अहिले जस्तो सबलाई भन्ने, देखाउने भन्ने नै भएन। मलाई त गर्भवती भएछु भनेर थाहा हुँदा एकदम लाज लाग्यो। कसैलाई भन्नै सकिनँ।

अरुले देख्छ, थाहा पाउँछ भनेर म त खास्टोले पेट छोपेर हिँड्थे। सकेसम्म कसैलाई पनि थाहा नहोस् जस्तो लाग्थ्यो। आमा र दिदीले पनि पछि मात्रै थाहा पाउनुभयो। वीरगञ्जमा एक्लै भए पनि त्यहाँको साथीहरूले मलाई एक्लो हुनै दिएनन्।

बिहेअघि घरमा बस्दा छिमेकमा बच्चा स्याहारेको देखेर मैले स्याहार्न जानिसकेको रहेछ। पहिला त एउटा घरको कुरा पूरै टोललाई थाहा हुन्थ्यो नि! अहिले त एउटा घरको मान्छेले टाँसिएको घरको मान्छे समेत चिन्दैन। पहिला हामी साच्चिकै समाजसँग भिजेको रहेछ जस्तो लाग्छ।

उता वीरगञ्जमा पनि सकेसम्म एक्लै गरेँ। अहिले जस्तो यो खानपर्छ, यसो गर्नुपर्छ भन्ने पनि भएन। त्यसबेला खानेकुराकै अभाव थियो। खाए पनि नखाए पनि त्यहि भात हो। अहिले जस्तो छानीछानी खाने अवस्था थिएन नि!

सुरु-सुरुमा चैँ अलि नरुचेको जस्तो भएको थियो। जचाउनको लागि हामी नजिकैको स्वास्थ्य चौकीमा जान्थ्यौँ। फुर्सदको समय भए श्रीमान् पनि जानुहुन्थ्यो। नत्र म एक्लै पनि जान्थे। डाक्टर उहाँको साथी हुनुभएको कारण हामीलाई सहज पनि भयो। डाक्टरले पनि चिन्ता नगर्नु, म छु भन्नुहुन्थ्यो। त्यसले गर्दा मनोबल उच्च हुन्थ्यो।

प्रसवको दिन साँझतिर पेट दुखेको जस्तो भएको थियो। अनि हामी अस्पताल गयौँ। नौ बजेतिर त मैले छोरीलाई जन्म दिइहालेँ। पहिलो पटक छोरीलाई काखमा लिँदा त ओहो, कस्तो-कस्तो महसुस भएको थियो। छोरी एकदम राम्री, सानी, गोरी, पुतली जस्ती लागेको थियो। सबले ल, लक्ष्मी आयो भन्नुभएको अहिले पनि याद आउँछ।

चिटिक्क परेकी थिई मेरी छोरी। गर्भावस्थामा मेरो तौल नबढे पनि उसको तौल जन्मदै तीन केजी भन्दा बढी थियो। छोरी जन्मिएको एक/डेढ महिनापछि मेरो आमा वीरगञ्ज आउनुभएको थियो। अनि आमासँग म काठमाडौं फर्किएँ।

हामी नेवारहरूमा सुत्केरी हुँदा घिउचाकु, कीमा खाने हो। कसैले चैँ सुत्केरीमा राँगाको मासु खान नहुने पनि भन्ने रहेछ। तर, हामीले चैँ राँगाको मासुको कीमा बनाएर खाने गर्छौँ। बिहान उठ्ने बित्तिकै चाकुभात पनि खाने। त्यसले बच्चालाई दूध पनि पुग्ने, आमाको शरीर पनि बलियो हुने गर्छ।

मलाई र छोरीलाई तेल लगाउने सबै आमाले नै गर्नुभयो। यता दुई महिना बसेर वीरगञ्ज नै फर्किएँ। गर्मीको समयमा त त्यहाँ बस्न नसक्ने हुन्छ। त्यहि भएर छोरी लिएर म यताउता गरेर नै बस्थेँ अनि छोरी स्कुल जाने भएपछि म पनि काममा जोडिएँ।

संग्रहालयमा जागिर चलिरहेको थियो। छोरी जन्मिएको पाँच वर्षपछि चैँ हामीले योजना अनुसार नै अर्को सन्तान जन्मायौँ। एउटा छोरी छ, अब एउटा छोरा होस् भन्ने थियो। भयो पनि त्यस्तै। छोरालाई पनि राति अस्पताल गएको बिहान त जन्माइसकेको थिएँ। व्यथा पनि मलाई त्यति धेरै समय लागेन।

दुवै सन्तान पाउने बेला मलाई त्यति धेरै गाह्रो भएन। दुवैलाई नर्मल नै जन्माएको हुँ।

सुत्केरी हुने अघिल्लो दिनसम्म म अफिस गएको थिएँ। अफिसमा पनि सानो बच्चा छ भनेर साथीहरूले सहयोग गर्नुभयो। हाकिमले पनि छुट्टी चाहियो भन्दा बुझ्नुहुन्थ्यो। छोरीलाई त डेढ वर्ष दूध खुवाएको थिएँ, छोरालाई चैँ दश महिना मात्र खुवाउन पाएँ।

बाबु भएको तीन महिना त छुट्टी पनि पाएँ। छुट्टीपछि मैले कहिले पनि छोरालाई काममा लगिन। दूध खुवाउन बरु घरै आउँथे। दुई जना सन्तान अनि काम पनि हुँदा चैँ अलि भ्याइ नभ्याइ नै भएको थियो।

छोरीलाई त श्रीमान्ले पनि हेर्नुहुन्थ्यो। छोरी पनि बाबा भनेपछि हुरुक्कै हुन्थी। भाई देखेपछि नानी खुब खुसी भई। उसले सानैदेखि भाइलाई एकदम माया गर्थिन्, अहिले पनि गर्छिन्। कति समय त उसलाई ‘भाइ हेर है’ भनेर पनि मैले छोडेर गएको छु।

त्यस्तै गरेर पनि उनीहरूको सम्बन्ध बलियो हुन पुगेछ। आमाबा नहुँदा पनि उनीहरू एकअर्काको साथी भइराखे। छोरी सानैदेखि अलि चन्चले स्वभावको थिई, छोरा चैँ सन्तोषी।

हामीले दुई सन्तानको बारेमा सोचेर उनीहरूको लागि पनि राम्रो गर्यौं जस्तो लाग्छ। धेरै नभए पनि कम्तीमा दुई जना सन्तान त हुनैपर्ने रहेछ। बच्चालाई बच्चा नै साथी चाहिन्छ भन्छन् नि, त्यो हो रहेछ।

उनीहरूले एकअर्कालाई बुझ्न सक्ने पनि रहेछ। कति कुरा हामीलाई थाहा नभए पनि उनीहरूले एकआपसमै समाधान गरिसकेको अवस्था पनि थियो।

दुवै जनाको अहिले बिहे भइसक्यो। आ-आफ्नो क्षेत्रमा राम्रो गर्दैछन्। त्यै पनि उनीहरूको मायामा कुनै कमी छैन। दिदीको लागि भाइ र भाइको लागि दिदी प्रिय छन्। अहिले पनि एकअर्कालाई उनीहरूले राम्रो सँग बुझ्छन्।

अहिलेको युवाहरू एउटा मात्र सन्तान जन्माउने भनेर बस्ने रहेछ। मैले त छोरीलाई पनि दोश्रो सन्तान चाहिन्छ भनेर सुझाव दिएको हुँ। नाति भएको नौ वर्षपछि नातिनी भयो।

मैले त सिधै भनेँ- ‘तिमीलाई पनि त भाइ भएर कति सजिलो भएको थियो। नातीलाई पनि एकजना साथी त चाहिन्छ।’ बहिनी भएपछि नाती पनि धेरै खुसी छ। बहिनीसँगै खेलेर बस्छ। बहिनीलाई एकदम माया गर्छ।

हामी त सधैँ रहन्नौ। छोरीको बिहे त्यहि भएर पनि गराइदियौँ। सुरूमा नाइँ भनिन्। पछि के सोचिन् कुन्नी हुन्छ भनिन्। छोरीको बिहे हामीले नै रोजेको केटासँग भयो। तर, अन्माउने बेलामा त मुटु चुडिएको जस्तै हुने रहेछ। अहिले ऊ परिवार सहित अमेरिकामा छ।

छोराले दुई वर्षअघि बिहे गर्यो। उनीहरू अहिले नै बच्चा जन्माउने पक्षमा छैनन्। छोराबुहारी नै बैंकमा काम गर्छन्। अहिलेको बच्चाहरूले कम्तीमा आफ्नो बारेमा चैँ सोच्ने भएछ भनेर खुसी लाग्छ।

अहिले आफ्नो अतितलाई फर्किएर हेर्दा त समय त एक पलमै सकिने रहेछ जस्तो लाग्छ। अहिले पनि फेरि मलाई मेरो बच्चाहरू सानो नै लाग्छ। दुवैलाई राम्रो शिक्षा दिन सक्यौँ। दुवै आफ्नो क्षेत्रमा खुसी भएर काम गरिराखेका छन्। त्यो भन्दा खुसीको कुरा हाम्रो लागि पनि के नै हुन्छ र!

आफ्नो सन्तानलाई कसैले राम्रो भनिदिँदा आमालाई त राम्रो लाग्ने रहेछ नि! तपाईंको छोराछोरीले यस्तो राम्रो गरे भन्दा उनीहरूलाई पहिलो पटक काखमा लिएको क्षण जत्तिकै खुसी हुन पुग्छु। सायद यो आमामा हुने गुण नै होला।

उनीहरूको लागि जे जति गर्न पाएँ, मनदेखि गरेँ। उनीहरूले पनि केहि गुनासो गरेको छैन। तर, अहिले घर सुनसान हुन्छ। उनीहरू आ-आफ्नैमा व्यस्त भइसके।

केटाकेटी हुँदाको घर र हुर्किसकेको घरमा फरक त हुने रहेछ। तर, सधै उनीहरूलाई मेरै आँखा अगाडि राख्छु भन्न पनि मिलेन। रुखको हाँगा जति फैलियो त्यति राम्रो! त्यति नै ठाउँमा छहारी पनि पुग्छ।

त्यै भएर अब हामी श्रीमान्-श्रीमती दुवै अवकाश प्राप्त जोडी छौँ। समय निकालेर आफन्तकोमा अनि घुम्न निस्किरहेका हुन्छौँ। अब सकेसम्म हातखुट्टा चलाउन पाइराखौँ। उनीहरूले पनि अब त आराम गर्नै सुझाव दिन्छ।

अब स्वास्थ्यका कारण पनि रोजाइका खानेकुरा खान र लाउने कुरा लाउन मिल्दो रैनछ। तर, घुम्न मन लागेको ठाउँमा चैँ घुमेर समय बिताउने हाम्रो योजना छ।

साउन १२, २०८१ आइतबार १३:१९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।