वैदेशिक रोजगारीका लागि नेपालीको पहिलो रोजाइ मलेसिया, त्यसपछि खाडीका छ राष्ट्र
काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवाहरूले मलेसिया र खाडी राष्ट्र नै पहिलो प्राथमिकतामा राखेको पाइएको छ।
आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागले दिएको श्रम स्वीकृति बमोजिम मलेसिया युवाहरूको पहिलो रोजाइमा परेको देखिन्छ।
त्यसबाहेक खाडीका मुलुकहरूलाई पनि नेपाली कामदारले प्राथमिकतामा राखेका छन्। गत आर्थिक वर्षमा विभागले सात लाख ४१ हजार दुई सय ९७ जनालाई श्रम स्वीकृति वितरण गरेको छ।
विभागले वितरण गरेको श्रम स्वीकृतिमध्ये करिब ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडीका छ वटा राष्ट्र साउदी अरेबिया, संयुक्त अरब इमिरेटस (यूएई), कतार, कुवेत, ओमान र बहराइनका लागि रहेका छन्।
मलेसियाका लागि एक लाख तीन हजार चार सय ४२ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख एक हजार पुरुष र दुई हजार ४२० महिला रहेका छन्।
साउदीका लागि एक लाख ४१ हजार पाँच सय दुई जनाले श्रम स्वीकृति लिएकोमा एक लाख ४० हजार छ सय ६६ पुरुष र आठ हजार ३६० महिला रहेका छन्।
यूएईका लागि एक लाख ९३ हजार चार सय ३८ जनाले श्रम स्वीकृति लिएका छन्। जसमध्ये एक लाख ६६ हजार चार पुरुष र २७ हजार चार सय ३४० महिला रहेका छन्।
कतारका लागि श्रम स्वीकृति लिएका एक लाख ३४ हजार छ सय ६९ जनामध्ये एक लाख २३ हजार आठ सय ५४ पुरुष र १० हजार आठ सय १५० महिला रहेका छन्।
कुवेतका लागि ४० हजार तीन सय ६८ जनाले स्वीकृति लिएकोमा पुरुष ३० हजार दुई सय ९३ र महिला १० हजार ७५०, ओमनाका लागि पाँच हजार नौ सय १० जनामध्ये पुरुष चार हजार छ सय सात र महिला एक हजार तीन सय तीन रहेका छन्।
त्यसैगरी बहराइनका लागि नौ हजार आठ सय छ जनामध्ये पुरुष आठ हजार छ सय ५४ र महिला एक हजार एक सय ५२० जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको देखिन्छ।
समीक्षा अवधिमा सबैभन्दा बढी संस्थागत, पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति वितरण गरिएको छ।
विदेश जानेमध्ये २ लाख ८१ हजार १९५ जना भने बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।
साउन १३, २०८१ आइतबार १२:००:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।