पेरिस ओलम्पिक : टेबलटेनिसमा पराजित भए श्यान्टु श्रेष्ठ

पेरिस ओलम्पिक : टेबलटेनिसमा पराजित भए श्यान्टु श्रेष्ठ

काठमाडौं : पेरिस ओलम्पिक २०२४ को टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन्। 

शनिबार साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे।

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए। इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो। पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमा पारेका इब्राहिमले दोस्रो र तेस्रो जित्न समान ५–५ मिनेट लगाए। 

चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमा जिते। पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउँदै इब्राहिमले जित हात पारेका थिए। बाँकी सेटको नतिजा भने इब्राहिमले सहजै आफ्नो पक्षमा पारे। 

हारसँगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन्।

चार पटकका राष्ट्रिय च्याम्पियन श्यान्टु दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करण मा ४ पदक जित्ने खेलाडी हुन्। नेपालमा भएको १३ औं सागमा श्यान्टुले टिम इभेन्टमा रजत तथा सिंगल्स, डबल्स र मिक्स डबल्समा कांस्य जितेका थिए। 

पेरिस ओलम्पिकमा नेपालबाट सहभागी ७ खेलाडी मध्ये श्यान्टु छनोट चरण पार गरेर खेल्ने एकलो खेलाडी हुन्। समग्रमा भने श्यान्टु छनोट हुँदै ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन्। 

यसअघि छनोट चरण पार गर्दै संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए। दुवै तेक्वान्दोका हुन्। 

पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पास्टमा श्यान्टुले जुडोकी मनीता श्रेष्ठ प्रधानसँगै राष्ट्रिय झण्डा बोकेका थिए। नेपालले टेबलटेनिसमा पहिलोपटक ओलम्पिकमा सहभागी जनाएको हो।

विगत २ वर्षयता अध्ययनको सिलसिलामा अस्ट्रेलिया बस्दै आएका श्यान्टुले ओलम्पिकको तयारी पनि अस्ट्रेलियामै गरेका थिए। ओलम्पिकमा सहभागी हुन अस्ट्रेलियाबाट पेरिस आएका उनी पेरिसबाटै अस्ट्रेलिया जाने छन्।

श्यान्टुका प्रशिक्षक राजेन्द्र कपालीले श्यान्टुले सक्दो राम्रो खेलेको प्रतिक्रिया दिदै प्रतिद्वन्द्वी धेरै राम्रो भएकाले हार व्यहोर्नु परेको बताए।

टेबलटेनिसका मुख्य प्रशिक्षक समेत रहेका कपालीले भने, ‘पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि थिए। त्यो सेट जितेको भए प्रतिद्वन्द्वीमाथि राम्रै दबाब कायम गर्न सकिन्थ्यो।’

खेलपछि श्यान्टुले सोचे भन्दा फरक भएको भन्दै प्रतिद्वन्द्वी आफू भन्दा धेरै माथिल्लो स्तरका खेलाडी भएको बताए।

‘प्रतिद्वन्द्वी राम्रो भएपनि ४–० को नतिजा मैले सोचेको नतिजा भने होइन। ओलम्पिकमा पहिलो सहभागिता भएकाले पनि नर्भस पनि भए,’ २४ वर्षीय श्यान्टुले भने। 

साउन १३, २०८१ आइतबार ०८:०४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।