बागमतीसहित यी ठाउँमा हुनसक्छ भारी वर्षा

बागमतीसहित यी ठाउँमा हुनसक्छ भारी वर्षा

काठमाडौं :जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साउन १२, २०८१ आइतबार ०७:१५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।