घरेलु हिंसाबाट कहालिएकी नेटफ्लिक्स डकुमेन्ट्री ‘माउन्टेन क्विन’की लाक्पा भन्छिन्- ‘घाइते महिला धेरै बलियो हुन्छन्’

घरेलु हिंसाबाट कहालिएकी नेटफ्लिक्स डकुमेन्ट्री ‘माउन्टेन क्विन’की लाक्पा भन्छिन्- ‘घाइते महिला धेरै बलियो हुन्छन्’

बिबिसी : बाहिरी संसारका लागि लाक्पा शेर्पाको जीवन निकै लोभलाग्दो छ। उनी १० पटक सगरमाथा चढ्ने पर्वतारोही हुन्। तर उनको व्यक्तिगत जीवन भने त्यति लोभलाग्दो हैन, पीडादायी छ। 

विश्वको सबैभन्दा अग्लो हिमालको सफल आरोहण गर्दा समेत श्रीमानबाट घरेलु हिंसा भोगिरहेकी थिइन् उनले। २००४ मा सगरमाथाबाट ओर्लदा समेत उनी हिंसा पीडित भइन्। 

अहिले उनी अमेरिकामा डिपार्टमेन्ट स्टोरमा सफाइकर्मीको रूपमा काम गरेर तीन सन्तानहरू हुर्काइरहेकी छिन्।

अहिले अमेरिकामा उनको परिचय डिपार्टमेन्ट स्टोरको सफाइकर्मी भए पनि उनीसँग अद्भुत आरोहीको परिचय सँगै गाँसिएकै छ। 

उनको यही दुर्लभ सफलता 'माउन्टेन क्वीन: द समिट्स अफ लाक्पा शेर्पा' नाममा नेटफ्लिक्समा प्रसारण हुँदैछ। नेटफ्लिक्समा यस अगाडि निर्मल पुर्जाको आरोहणबारे वृत्तचित्र प्रसारण भएको थियो जसले उनलाई विश्वमाझ चिनायो। शेर्पा पनि आफूमाथि बनेको वृत्तचित्रप्रति उत्साहित छिन्। 

उनले बिबिसीलाई भनिन् ‘महिलाहरूले पनि गर्न सक्छन् भनेर म देखाउन चाहन्छु।’ 

उनको आरोहणको अर्को रोचक पक्ष के हो भने उनले सामान्य तालिमकै भरमा १० पटक सगरमाथाको सफल आरोहण गरिन्।

सगरमाथा खेलाँची गर्ने ठाउँ हैन जहाँ तीन सय बढीको ज्यान गइसकेको छ। 

नियमित घरको कामकाज अनि वरपरका पहाड चढेरै शेर्पाले आफ्नो शरीरलाई सगरमाथा आरोहणका लागि योग्य बनाएकी थिइन्। आफ्नो दैनिक कामबाटै फिट भएर सगरमाथा चढ्नु यो एक अविश्वसनीय उपलब्धि हो। 

१९७३ मा सामान्य किसान परिवारमा जन्मिएकी उनी ११ सन्तानमध्ये एक थिइन्। उनी जहाँ हुर्किइन् त्यहाँ छोरीलाई पढाउन त्यति चासो राख्दैनथे। उनले आफ्नो भाइलाई घण्टौँसम्म बोकेर स्कुल लगिन्, तर उनलाई स्कुलभित्र जान दिइएन। 

उनले पढ्न पाइनन्। अनि  १५ वर्षको उमेरमै पर्वतारोहीको भरियाको रूपमा काम सुरु गरिन्। भरियाको समूहमा उनी एक्लो महिला थिइन्। 

काठमाडौँमा भएको छोटो सम्बन्धमै उनी गर्भवती भइन्। अविवाहित आमा भएको भन्दै लाजले उनी घर फर्किन सकिनन्। पर्वतारोहणकै क्रममा रोमानियाली-अमेरिकी पर्वतारोही जर्ज डिज्मारेस्कुसद्सँग उनको भेट भयो  र उनीसँग प्रेममा परिन्। 

उनी तानाशाह निकोलाए चाउशेस्कुको शासनकालमा डान्युब नदीमा पौडेर रोमानियाबाट अमेरिका पुगेका थिए। डिज्मारेस्कुसँग २४ वर्ष अगाडि विवाह गरेर उनी कनेक्टिकटमा बस्न थालिन्।  

तीन सन्तानमध्ये छोरा निमा नेपालमै जन्मिएका थिए। छोरीहरू सनी  र साइनी अमेरिकामै जन्मिए।  

डिज्मारेस्कुको व्यवहार हिंसात्मक हुन थाल्यो। अनि उनीहरूको सम्बन्ध पनि बिग्रँदै गयो। सन् २००४ मा एक समूहसँग सगरमाथा चढ्न नेपालमा थिइन् उनी। 

शिखरमा पुगेपछि मौसम खराब भयो। पर्वतारोहण चढाइको रिपोर्टिङ गरेका पत्रकार माइकल कोडासका अनुसार डिज्मारेस्कुको व्यवहार 'तुरुन्तै बदलियो'। 

वृत्तचित्रमा यसलाई सम्झँदै, उनी भन्छन् डिज्मारेस्कुको व्यवहार 'शत्रुतापूर्ण' भयो। 

उनीसँगै पालमा बसेकी शेर्पाले क्यामेरामा भनिन्: 'उनी चिच्याइरहेका थिए र उनले मलाई मुक्का हाने।' 

त्यसपछि उनी बेहोस भएर लडिन्। 

अस्पतालले बदलिएको बाटो 

फिल्ममा, शेर्पाले बेहोस हुनुलाई शरीर बाहिरको अनुभवको रूपमा वर्णन गरेकी छिन्। 

‘मैले मेरो पूरै जीवन देखेँ। म मेरी आमाको घर नजिकै उडेँ। मैले सबै कुरा देखेँ... म आफैंलाई लज्जित महसुस गरेँ। म मर्न चाहन्छु।' 

त्यसपछि उनले आफ्ना बच्चाहरूलाई सम्झिइन्, र भनिन् 'म मर्न तयार छैन।' 

कोडासले यो हिंसात्मक घटनालाई आफ्नो २००८ को पुस्तक, हाई क्राइम्स: द फेट अफ एभरेस्ट इन द एज अफ ग्रिड'मा समावेश गरेका थिए। 

सम्बन्ध बिग्रे पनि केही वर्षसम्म उनीहरू सँगै बसे। सन् २०१२ मा डिज्मारेस्कुले फेरि आक्रमण गरेपछि उनलाई अस्पताल भर्ना गरियो। यो घटना उनको जीवनले नयाँ मोड लियो। एक सामाजिक कार्यकर्ताको सहयोगमा उनी महिला आश्रममा सरिन्, जहाँ उनले आफ्नो जीवन पुनर्निर्माण गर्न थालिन्। 

उनले २०१५ मा सम्बन्ध विच्छेद गरिन्, र २०१६ मा अदालतले शेर्पालाई आफ्ना सन्तानको एकल कानुनी संरक्षण दियो। 

सन् २०२० मा डिज्मारेस्कुको क्यान्सरले मृत्यु भयो। उनले शेर्पालाई पहिल्यै आघात दिइसकेका थिए। वृत्तचित्रका लागि उनीहरूको सम्बन्धबारे कुरा गर्न शेर्पालाई जति गाह्रो भयो त्यसले नैै उनमा परेेको आघात देखाउथ्यो।

'घाइते महिला धेरै बलियो हुन्छन्' 

सनी र साइनी पनि डकुमेन्ट्रीमा देखिन तयार भए। उनीहरू सहभागी हुन सहमत भए। 

'हामीले भोगेको सङ्घर्षलाई आफूलाई कमजोर बनाउन होइन बलियो बनाउन प्रयोग गरेका छौँ, हाम्री आमाको कथाको महत्त्वपूर्ण अंश हौ’ उनीहरूले भने। 

शेर्पा विवाहको आघातपछि जीवन निकै कठिन भएको बताउँछिन्।  

‘कहिलेकाहीँ सोच्छु  'म किन जीवित छु, म किन मरेको छैन। यति गाह्रो। तर कसरी हो कसरी मैले यो गरेँ...’ उनले भनिन् 'घाइते महिला धेरै बलिया हुन्छन्। सजिलै हार मान्दैन। र म प्रयास गरिरहन्छु।’ 

पर्वतारोहण उनको सपना मात्रै हैन मनमा लागेको घाउ निको बनाउने प्रक्रिया पनि हो।

उनी २०२२ मा कीर्तिमानी १०औँ एभरेस्ट आरोहण सुरु गरेको दृष्य देख्यौ। उनी आधार शिविरमा नजिकैको पालमा सुतिरहेकी छोरी साइनीलाई फुस्फुसाउँदै राती टर्च लाइटको सहायतामा आरोहण सुरु गर्छिन्। 

उनी आफू अनि आफ्नो सन्तानको भविष्य सुरक्षित गर्न चाहन्छिन्। त्यसका लागि उपाय आफ्नै कम्पनीबाट पर्वतारोहणलाई अगाडि बढाउनु हो। उनी स्पोन्सरको खोजीमा छिन्।

‘म हिमाललाई चिन्छु। म मेरो अनुभव अन्य व्यक्तिहरूसँग साझा गर्न चाहन्छु’ उनी भन्छिन्। 

सनी र साइनी थप्छन् ‘महिलाहरूले ठूला शिखरहरू चढ्न हाम्री आमाको पाइला पछ्याउन थालेका छन्।’ 

*यो सामाग्री बिबिसीको हो। हामीले अनुवाद र सम्पादन सहित प्रकाशित गरेका हौँ। 

साउन ११, २०८१ शनिबार २२:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।