२ वर्षभित्र सय जना नेपालीलाई रोजगारी दिनेगरी नेपाल भित्रिदैछ यूएईको 'राफ्फे' कम्पनी

२ वर्षभित्र सय जना नेपालीलाई रोजगारी दिनेगरी नेपाल भित्रिदैछ यूएईको 'राफ्फे' कम्पनी

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल उपकरणजन्य ब्रान्ड राफ्फेले नेपालमा शाखा खोल्ने तयारी गरेको छ। सो कम्पनीले अहिले नेपालको बजार सर्वे गरिरहेको र दुई महिनाभित्र नेपालमा शाखा खोल्ने बताएको छ।

त्यसो त नेपालमा थुप्रै मल्टिनेशनल कम्पनीहरू नआएका होइनन्। तर, ती कम्पनीहरू यहाँबाट नाफा कमाउन नसकेको भन्दै केही समयमै फर्किने गरेका छन्। तर, राफ्फे आएपछि नफर्किने एमडी सैलेन्द्र झाको दाबी छ। 

'हामी विश्वका ७ मुलुकमा छौं। अझै विस्तार गर्ने सोचमा छौं। तर, कुनै पनि मुलुकमा गएपछि त्यहाँबाट फिर्ता भएका छैनौं, उनले भने।

उनले नेपालमा २ वर्षभित्र सय जना नेपालीलाई रोजगारी दिनेगरी नेपाल भित्रिन लागेको दाबी गरे। कम्पनीको यूएईमा रहेको मुख्य कार्यालयमा पनि २० जना बढी नेपालीले काम गरिरहेका छन्। जहाँ ७ अलगअलग राष्ट्रका नागरिकले काम गर्छन्। नेपालमा लगानी गर्ने माहोल रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने उनको तर्क छ।

नेपालमा मोबाइल खरिद गर्ने बजार उत्कृष्ट रहेकाले नेपाली बजारमा आउन चाहेको उनले बताए। 

'नेपालीहरूमा खरिद क्षमता धेरै छ तर, गुणस्तरीय सामाग्री पाइरहेका छैनन्। त्यही आवश्यकतालाई पूरा गर्न हामी आएका हौं', उनले भने।

अमेरिका र कतारमा शाखा बिस्तार गर्ने अन्तिम तयारी रहेको उनको भनाइ छ। झाले नेपाल आएपछि ग्राहकलाई कुन उत्पादन ठीक, कुन बेठीकभनेर छुट्याउने बनाउनु आफ्नो चुनौती रहेको बताए। 

'हाम्रो लागि एउटै नीति छ, ग्राहक। अनि हाम्रो एउटै उद्देश्य छ, ग्राहकलाई खुसी बनाउनु,' उनले भने 'कतिसम्म भने हाम्रो डाटा केबल कतिपटक प्रयोग गर्दा बिग्रिन्छ भनेरसम्म ग्यारेन्टी गर्छौँ।'

के हो राफ्फे?
राफ्फे एक मोबाइलजन्य उपकरण उत्पादन गर्ने कम्पनी हो। यसको मूख्यालय युएईको दुबइ शहरमा छ। यो कम्पनी सन् २०२३ को फेब्रुअरीमा स्थापना भयो।

राफ्फे नामको ब्राण्ड सुरु गरेर विद्युतीय सामग्रीको बिक्री वितरण गर्दै आएको कम्पनीले चीनको फ्याक्ट्रमा उत्पादन गर्दै आइरहेका छन्। यो ब्राण्डमार्फत कम्पनीले दुबईमा पावर बैंक, एडप्टर, डाटा केबल, स्पिकर, इयरफोन र एयरपड्स लगायतका वस्तु बिक्री वितरण गर्दै आइरहेको छ।

हाल यूएई भरका ९०० स्टोरमा आफ्नो उपस्थिति देखाइसकेको कम्पनीले जानकारी दिएको छ। स्मार्टफोन, एप्पल, अमाजोन ब्राण्डका लागि नै वस्तु बिक्री वितरण गर्दै आइरहेको राफ्फेले भावी दिनमा आफ्नो व्यवसाय थप विस्तार गर्ने योजना बुनेको कम्पनीले जनाएको छ।

कसरी सुरू भयो राफ्फे?
झापाको दमकका विवेक सुवेदीले रोजगारीका लागि २०१६ मा यूएई पुगेर केही समयपछि स्थापना गरेको कम्पनी हो, राफ्फे।

‘राफ्फे’ ब्राण्डका विद्युतीय सामग्रीको बिक्री सुरू गर्दै आएका सुवेदीसँग अहिले गोल्डेन भिषाको सुविधा छ।
यो कम्पनीले स्थापनाको वर्षमा १५ मिलियन दिरामको व्यापार गरेको जनाएको छ। 

उनले झापाको दमकमा ‘राफ्फे रेष्टुरेन्ट एण्ड लञ्ज’ सञ्चालनमा ल्याएका छन्। यति मात्र होइन, यसलाई नेपालभर फैलाउने उनको योजना रहेको छ। सुरुको एक वर्षमा नै कम्पनीले ३० जनालाई रोजगारी दिएको छ। 

राजधानी अबुधावीमा कर्पोरेट कार्यालयको स्थापना गरिसकेको राफ्फेले अबको दुई वर्षभित्र यूएईसहित गल्फ देशमा व्यवसाय विस्तार गरेर सन् २०२४ मा ५० मिलियन दिरामको व्यापार लक्ष्य बनाएको छ।

साउन ११, २०८१ शनिबार २२:१७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।