छुट्टाछुट्टै ठाउँमा ८ जना मृत भेटिए

छुट्टाछुट्टै ठाउँमा ८ जना मृत भेटिए

काठमाडौं : देशका विभिन्न ठाउँमा एकै दिन ८ जना मृत अवस्थामा फेला परेका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका–१२ जुली बजार जाने बाटोमा गौशाला नगरपालिका घर भएका ४५ वर्षीय शोमा लाल चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन्। 

प्युठानका सरूमारानी गाउँपालिका–२ ददेरीस्थित गहनाखोलामा सोही ठाउँ बस्ने ५७ वर्षीय गुरू प्रसाद शर्मा शुक्रबार मृत भेटिए। 

त्यस्तै, कैलालीको जोशीपुर गाउँपालिका–३ बस्ने ४२ वर्षीया हिरा देवी गड्सिला आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन्। शव शंकास्पद अवस्थामा देखिएपछि आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
दार्चुलाको नौगाड गाउँपालिका–५ स्थित सेलाबगर खोलामा सोही गाउँपालिका–३ खार बस्ने ३५ वर्षीय मनबिर बोहरा शनिबार मृत अवस्थामा फेला परे। 

उता, रोल्पाको रून्टिगढी गाउँपालिका–६ सरिचौर बस्ने ६१ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँ डुब्रिङ चोकस्थित नालामा शनिबार मृत अवस्थामा फेला परे। 

नवलपरासी पूर्वको बिनयी त्रिबेणी गाउँपालिका–२ बाह्रघरे चोक नजिक बारीमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परे।

रौतहटको गुजरा नगरपालिका–३ सिमरीस्थित लाल बकैया खोलामा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा भेटिए।

मकवानपुरको बागमती गाउँपालिका–९ स्यालथुम वेसीस्थित बागमती खोला किनारमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परे। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

साउन ११, २०८१ शनिबार २१:३४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।