'हामी यहाँ छौं'को धङधङीमै प्रचण्ड, संविधानबाट जनताको अधिकार खोस्न खोजिए सडकमा जाने चेतावनी

'हामी यहाँ छौं'को धङधङीमै प्रचण्ड, संविधानबाट जनताको अधिकार खोस्न खोजिए सडकमा जाने चेतावनी

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्ने चेतावनी दिएका छन्। 

शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरूले संविधान संशोधन गर्न चाहेको तर, जनताको अधिकार कटौती गर्ने आशयका साथ कांग्रेस–एमाले आए फेरि सडकमा पलेटी कसेर जनदबाब सिर्जना गर्न बाध्य हुने चेतावनी दिए।

उनले भने, 'सडकमा पलेटी कसेर भए पनि जनताको साथमा रहेर उनीहरूको दुस्साहसलाई पुरा हुने दिने छैनौं।'

उनले संविधान सभाबाट संविधान बनिसकेपछि पनि यो संविधानका मूलभूत प्रस्तावनालाई बदल्न खोज्ने, समावेशितालाई समानुपातिकतालाई, संघीयतालाई र गणतन्त्रको प्रगतिशील पक्षलाई कमजोर पार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनभित्र देखा परेको बताए।

अध्यक्ष प्रचण्डले भने, 'संविधान संशोधन गर्नु नै हुँदैन भन्ने होइन। महिला तथा अन्य उत्पीडित समुदायलाई अधिकार अझै पुगेको छैन, त्यसको अधिकारलाई बढोत्तरी गर्नुपर्छ भनी नोट अफ डिसेन्ट लेख्ने पार्टीको नाताले हामी संविधान संशोधनको पक्षमा छौं।'

उनले ठूला दुई दलले ‘थ्रेसहोल्ड’ बढाएर साना पार्टीलाई निस्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाए। 

०७७, पुस १० मा पनि 'प्रतिनिधि सभा विघटन खारेज गर', 'संवैधानिक कू मान्दैनौं' भन्दै प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सडकमा आएका थिए। 

माइतीघरमा कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरूले छातीमा 'हामी यहाँ छौं' लेखेर टाँसेका थिए।

साउन ११, २०८१ शनिबार २१:०३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।