पार्टीलाई दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएको भन्दै दर्जन कार्यकर्ताले छोडे मोहन वैद्यको साथ

पार्टीलाई दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएको भन्दै दर्जन कार्यकर्ताले छोडे मोहन वैद्यको साथ

काठमाडौं : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले विद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले कार्यक्रम गरी उनीहरुलाई प्रवेश गराएको हो ।

वैद्य नेतृत्वले जनता तथा मजदुरको हितमा काम गर्ने भन्दा व्यक्तिवादी तरिकाले चलेको र पार्टीलाई गतिशील भन्दा दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएर राखेको आरोप लगाउँदै नयाँ पार्टीमा प्रवेश गरेको बताइएको छ। 

नवप्रवेशीहरूलाई पार्टी संयोजक पूर्णबहादुर सिंह समरजंगसहित केन्द्रीय नेताहरूले खादा तथा अबिर लगाएर स्वागत गरे।

संयोजक समरजंगले नेपालमा पार्टी, क्रान्ति र जनताको हितको लागि भन्ने तर हरेक पार्टी आफ्नो निजी स्वार्थबाट माथि उठ्न नसकेको बताए। 

पार्टीको ट्रेड युनियनका संयोजक विनोद थापाले शोषित पीडित श्रमजीवी मजदुरहरूको लागि आफूहरूले नयाँ रणनीति बनाएर अगाडि बढ्ने बताए।

इश्वर बुढाथोकीले विगतदेखि विभिन्न माओवादी धारहरूमा आफूहरूले पार्टी र क्रान्तिको लागि योगदान गर्दै आएको र पछिल्लो समयमा वैद्य निकटको मजदुर संगठनले श्रमिकहरुको हितमा काम गर्न नसेकोले आफूहरूले विद्रोह गरेको बताए। 

बुढाथोकीको नेतृत्वमा कालिबहादुर पाण्डे, चन्द्रबहादुर बस्याल, भूमिका सिञ्जाली, दिपेन्द्र घिमिरे, सुजाता रोका, नितु शाह, राजकुमार खड्का, बलराम तामाङलगायत एक दर्जनबढीले बिद्रोह गरी पूर्णबहादुर सिंह ‘समरजंग’ नेतृत्वको श्रमिक कम्युनिष्ट पार्टी निकट रहेको मजदुर संगठनमा प्रवेश गरेका हुन्।  

साउन ११, २०८१ शनिबार १९:५९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।