कर्णाली प्रदेश प्रमुख परियारको सचिवालयका विषयमा जातीय विभेदजन्य शब्द फेसबुकमा लेखेपछि पक्राउ परे शिक्षक सिंह

कर्णाली प्रदेश प्रमुख परियारको सचिवालयका विषयमा जातीय विभेदजन्य शब्द फेसबुकमा लेखेपछि पक्राउ परे शिक्षक सिंह

काठमाडौं : प्रहरीले कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारको सचिवालयलाई लिएर सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेर पोस्ट गरेको आरोपमा एक शिक्षक पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दैलेखको महाबु गाउँपालिका– ४ का तर्कबहादुर सिंह पक्राउ छन्। उनी महाबु गाउँपालिकाको गीताचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षक हुन्।

केही दिनअघि प्रदेश प्रमुख परियारको सचिवालयमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक गरिएको थियो। सचिवालयमा कार्यरत १२ जना कर्मचारी सबै दलित समुदायकै सदस्य छन्। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार उक्त विवरण विनोद बुढा नामका फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा अपलोड गरेका थिए। त्यसैमा शिक्षक सिंहले कमेन्ट गरेका थिए। उनले कमेन्टमा ‘सबै डुमैडुम छन् त यार अरू कोही रहेनछन् त’ लेखेका थिए।

दलित समुदायका अगुवाहरूले उनको प्रतिक्रिया प्रदेश प्रमुख परियारभन्दा पनि समग्र दलित समुदायप्रति लक्षित रहेको भन्दै कारबाहीको माग गर्दै जातीय छुवाछुतविरुद्ध जाहेरी दिएका थिए। 

सिंहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी विश्वकर्माले बताए।   

साउन ११, २०८१ शनिबार १९:३२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।