असुली विवादमा बाहुनसँगको भिडन्तमा गोली लागेर घाइते भएका मीनकृष्ण बागमतीको खेलकुद मन्त्री

असुली विवादमा बाहुनसँगको भिडन्तमा गोली लागेर घाइते भएका मीनकृष्ण बागमतीको खेलकुद मन्त्री

काठमाडौं : बागमती प्रदेशमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा युवा तथा खेलकुद मन्त्री बनेका मीनकृष्ण महर्जनको सार्वजनिक छवि नेता कम गुन्डा नै बढी हो।

ललितपुर आधार क्षेत्र बनाएका उनको प्रभाव सडक निर्माण ठेक्का अनि क्रसरमा एकछत्र थियो। असुलीमा कहलिएका काभ्रेका गणेश लामा, काठमाडौँका दीपक मनाङे अनि चक्रे मिलनले समेत ललितपुरमा हस्तक्षेप गर्न सक्दैनथे।

राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष समेत रहेका उनी कराँतेका खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्रि समेत हुन्। खेलकुदबाटै उनी असुलीमा सक्रिय देखिए।

कांग्रेस समर्थक हुँदै गुन्डागर्दीमा छिरेका उनको आर्थिक हैसियत उचालिएसँगै पार्टीमा प्रभाव समेत बढ्दै गयो। अन्यले मीनकृष्णलाई ललितपुरको असुलीमा छाडे पनि रमेश बाहुनले भने छाडेनन्। रमेश बाहुनका रूपमा परिचित सुजन पौडेल एमालेको आडमा असुलीमा सक्रिय थिए।

रकम असुल्न उनले अपनाउने क्रूर शैलीका कारण निर्माण व्यवसायी उनीसँग डराउँथे। सुजनले ललितपुरमा समेत आफ्नो प्रभाव बढाउन थालेपछि मीनकृष्ण र रमेश बाहुनबीच सडक ठेक्काको असुली रकम बाँडफाँडको सहमति भएको थियो।

तर सडक ठेक्काबाट असुलेको रकम बाँडफाँडमा मीनकृष्णबाट धोका भएको भन्दै रमेश बाहुनले उनलाई गोली हाने। धापाखेलमा बिहान पिपलको बोटमा पानी हाल्न जाँदा उनीमाथि गोली प्रहार भएको थियो। उनको तिघ्रामा गोली लागेकाले गोली हान्नुको प्रयोजन तर्साउने देखिएको थियो।

१० वर्ष अगाडि गोली लागेर गम्भीर घाइते भएका उनको ज्यान जोगियो। तर पहिला झैँ शारीरिक रूपमा सक्रिय हुन नसकेपछि उनी राजनीतिमा केन्द्रित भए।

फरार भएर भारतमा लुकेर बसेका रमेश बाहुनलाई इन्काउन्टरको योजनासहित नेपाल ल्याइयो। तर पक्राउको सूचना चुहिँदा उनको ज्यान जोगियो। करिब आठ वर्ष जेल बसेर रिहा भएपछि उनी दुबईतिर लागे। अहिले उतै छन्।

मीनकृष्ण राजनीतिमा सक्रिय भए। प्रकाशमान सिंह समूह निकट रहेका उनको नाम ललितपुरमा पटक-पटक सिफारिस भए पनि टिकट पाएनन्। काङ्ग्रेस-माओवादी गठबन्धनबाट २०७९ मङ्सिर-४ को निर्वाचनमा ललितपुर-१, प्रदेश सभा (ख) बाट टिकट पाएर निर्वाचित भए।

एमाले-माओवादी गठबन्धन भत्किएर काङ्ग्रेस-एमाले गठबन्धन बनेसँगै बागमती कांग्रेसको नेतृत्वमा आयो। काङ्ग्रेसबाट मुख्यमन्त्रीमा बहादुर सिं लामा तामाङ नियुक्त भएपछि मीनकृष्ण महर्जन खेलकुद मन्त्री भए।

साउन ११, २०८१ शनिबार १९:३०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।